Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


रेडियो पत्रकारितामा निरौला र शेर्पाको विश्व कीर्तिमान


286
Shares

सोलुखुम्बु । विश्वकै लामो रेडियो अन्तरवार्ताको विधामा सोलुखुम्बुको हिमाल एफएमका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले विश्व कीर्तिमान बनाउनुभएको छ ।

पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुबाट सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तरवार्ता लिएर यसअघि अष्ट्रेलियाका पत्रकारले बनाएकाे रेकर्ड तोड्दै नेपालबाट विश्व रेकर्ड कायम गर्नुभएको हो ।

‘पर्यटन र जनवायू परिर्वतनका असर’ विषयमा विश्वकै लामो रेडियो अन्तरवार्ता गएको कात्तिक २२ गते सोमबार विहान ७ः३५ बजे सुरु भइ कात्तिक २३ गते मङ्गलबार विहान ९ः०१ बजेसम्म लगातार २५ घण्टा २६ मिनेटसम्म हिमाल एफएमको काठमाडौंस्थित स्टुडियोमा चलेको थियो ।

निरौला हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक हुनुहुन्छ भने पर्यटनविद् शेर्पा एफएम सञ्चालक समितिका उपाध्यक्ष हुनुहुन्छ । निरौला र शेर्पाले पेश गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले सोमबार मान्यता दिएको छ ।

अधिकारिक मान्यता पाएपछि पत्रकार निरौलाले कीर्तिमानले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्व राख्ने बताउनुभयो । देशकै लागि एउटा किर्तिमान थप्न सकेकोमा गौरव महसुस भएको उहाँको भनाइ छ । उहाँले आफ्नो पेशाको क्षेत्रबाट देशको नाम राख्न पाउँदा खुसी लागेको बताउनुभयो ।

पर्यटन विद् आङफिन्जो शेर्पाले आफ्नो प्रयासले सार्थकता पाएकोमा खुसी व्यक्त गर्नुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत महत्वपूर्ण पर्यटकीय सम्पदा रहेको नेपालमा ‘पर्यटन र जलवायू परिर्वतनको असर’ विषयमा विश्वकै लामो अन्तरवार्ताले पर्यटन क्षेत्रलाई चलायमान गराउँदै जलवायू परिर्वतनको न्यूनीकरणमा विश्वको ध्यान आकर्षित गर्ने उहाँको विश्वास छ ।

यसअघि विश्वको लामो रेडियो अन्तरवार्ताको कीर्तिमान अष्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरको नाममा थियो । उहाँले सन् २०११ मा सिड्नीस्थित रेडियो ७०२ एबिसीमा खेल विज्ञ पिटर फिट्ज्मिन्स्सँग २४ घण्टा लामो अन्तरवार्ता लिनुभएको थियो ।