Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


तेस्रो लहरको ‘साइरन’


247
Shares

काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरको ‘साइरन’ बजेको छ । अघिल्लो सोमबार २।६० प्रतिशत रहेको संक्रमणदर त्यसयता निरन्तर उकालो लागेर आइतबार ९.२३ प्रतिशत पुगेको छ । एकैदिन ११ सय ६७ जनामा संक्रमण देखिएको छ । यो ८ असोजयताकै सबैभन्दा धेरै हो ।

संक्रमण तीव्र रूपमा बढ्न थालेपछि कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले १५ माघसम्म देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्नेसहित १३ बुँदे सिफारिस सम्बन्धित मन्त्रालयलाई गरेको छ । आइतबार बसेको सिसिएमसिसीको बैठकले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न शिक्षा मन्त्रालय र संघीय मामिला मन्त्रालयलाई सिफारिस गरेको छ ।

आधारभूत र माध्यमिक विद्यालयको बिदा वार्षिक बिदामा जोडिनेछ । विद्यार्थी र शिक्षकलाई बिदाकै अवधिमा खोप लगाइनेछ । १२ देखि १७ वर्ष उमेरका विद्यार्थीसँगै त्यसमाथिका सबै विद्यार्थी र शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउने व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ ।‘कोभिडको चेन ब्रेक गर्न पनि कदम चाल्नुपर्ने देखियो, सार्वजनिक स्थलमा भिडभाड कम गरेर स्वास्थ्यका मापदण्ड पालना गरेमा संक्रमणको चेन ब्रेक हुने अपेक्षा छ,’ सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले भनिन् ।

खोप नलगाएकाले कार्यालयमा प्रवेश नपाउने
सार्वजनिक सेवामा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । ७ माघबाट लागू हुने यो व्यवस्था कार्यालय, रेस्टुरेन्ट, सिनेमा हल, हवाई यात्रा र पार्कमा लागू हुने सिसिएमसिसीकी प्रवक्ता नेपालले बताइन् । ‘कार्यालय वा रेस्टुरेन्ट प्रवेश गर्दा खोप कार्ड वा मोबाइलमा फोटो देखाउन सकिनेछ,’ उनले भनिन्, ‘यो व्यवस्था जिल्लास्थित कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रमार्फत लागू हुनेछ ।’

नयाँ पत्रिका