Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


राजतन्त्रबारे राप्रपामा तीन धार


1.5k
Shares

काठमाडौं । एकता महाधिवेशन गरेको एक महिना बित्दानबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र तीन धार देखापरेको छ।

मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई हेर्ने विषयमा मतभेद देखिएको हो। अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता सडक आन्दोलन गरेर भए पनि संवैधानिक राजतन्त्र स्थापनाको पक्षमा देखिएका छन्।

निवर्तमान अध्यक्ष कमल थापा राजतन्त्रको विपक्षमा देखिएका छन्। उनले पार्टीहरूको आन्तरिक जीवनमा पूर्वराजाले नांगो हस्तक्षेप गरेर राजनीतिभन्दा माथि बस्न नसकेको आरोप लगाएका छन्।

उपाध्यक्ष बुद्धिमान तामाङसहितका केही नेता अध्यक्ष र निवर्तमान अध्यक्ष दुवैको धारणा अतिवादी रहेको भन्दै राप्रपा हिन्दु राष्ट्रसहितको आलङ्कारिक राजतन्त्रको पक्षमा उभिनुपर्ने पक्षमा छन्। पुरानै अवस्थाको राजतन्त्र र राजतन्त्रबिनाको राप्रपा दुवै असम्भव रहेको भन्दै तामाङसहितका नेता मध्यमार्गमा उभिएका हुन्।

निवर्तमान अध्यक्ष थापा पृथ्वीजयन्तीको अवसर पारेर पुस २७ गतेबाट पार्टी एकता र हिन्दु राष्ट्रका लागि अभियान सञ्चालनको तयारीमा थिए। कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएको भन्दै थापाले अभियान केही समय रोकिएको जनाएका छन्। ‘पुस २७ मा सुरु गर्न लागिएको राष्ट्रिय एकता अभियान केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरूबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेका कारण समेत सो अभियान हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ,’ उनले लेखेका छन्।

नागरिक