२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


वडाध्यक्ष ७७ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौं महानगरले गर्‍यो पाँच लाख खर्चेर ब्यांक्वेटमा भोज


17.381k
Shares

काठमाडौं । चरम बेथितिमा नमुना बनेको काठमाडौं महानगरपालिकाले वडाध्यक्ष ७७ वर्ष पुगेको उपलक्ष्यमा समेत ब्यांक्वेटमा भोज खुवाएको छ । महानगरले आफ्नै खर्चमा वडा नंं १ का अध्यक्ष भरतलाल श्रेष्ठको भीमरथारोहण (जंको) गरेर लैनचौर ब्यांक्वेटमा भोज खुवाएको हो । नेवार समुदायमा ७७ वर्ष सात महिना सात दिन सात घडी र सात पलाको अवसरमा जंको गर्ने चलन छ ।

श्रेष्ठ एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । महानगरका मेयर विद्यासुन्दर शाक्य पनि एमालेबाटै निर्वाचित हुन् । १६ मंसिरमा श्रेष्ठको जंको गर्दा महानगरले पाँच लाख रुपैयाँ खर्चेर भोज खुवाएको हो । उक्त अवसरमा मेयर शाक्य, महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र कर्मचारी भोज खान लैनचौर ब्यांक्वेट पुगेका थिए ।

महानगरका सहप्रवक्ता महेशकुमार काफ्लेले वडाध्यक्षको जंकोको अवसरमा महानगरको खर्चमा ब्यांक्वेटमा खाना खुवाइएको स्विकारे । ‘वडा नं। १ का अध्यक्ष भरतलाल श्रेष्ठको जंकोमा महानगरले भोज खुवाएको हो । तर, अहिलेसम्म भुक्तानी भने भएको छैन, फाइल मकहाँ आइपुगेको पनि छैन,’ प्रशासन विभागका प्रमुखसमेत रहेका काफ्लेले भने । १६ मंसिरको साँझ ब्यांक्वेटमा भोज खुवाउँदा कम्तीमा पाँच लाख रुपैयाँ खर्च भएको महानगरका एक अधिकृतले बताए ।

याँ पत्रिका