Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


ओलीले संसद्लाई बन्धक बनाएः गगन


208
Shares

गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । पुनर्स्थापित संसद्लाई एमाले अध्यक्ष ओलीले योजनाबद्ध ढंगले चल्न नदिएर बन्धक बनाउन खोजेको भन्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् ।

‘संसद्लाई पंगु बनाउने कोसिस एमालेबाट गरिएको छ । संसदीय व्यवस्था कामै नलाग्ने हो भन्ने स्थापित गर्न खोजिँदैछ’, शुक्रबार गोरखामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले भने, ‘हामी सरकार चलाउने पार्टी हो, केही ठाउँमा झुक्नुपर्छ, झुक्छौं । संसद् चलाउने विषयमा विनम्र हुनुपर्छ, हुन्छौं । सांसदले संसद्मा बोल्ने हो, चोक र चौतारीमा होइन ।’ उनले एमालेले थिलथिलो पारेको व्यवस्थालाई कांग्रेसले सम्हाल्ने बेला आएको बताए । उनले भने, ‘संसद्बाट पारित गर्नुपर्ने दर्जनौं विषय छन् । अब संसद् चलाउने विषयमा छलफल, संवाद हुन्छ, सहमतिमा नआए एमालेको भण्डाफोर हुन्छ ।’

महामन्त्री थापाले न्यायालयलाई अहिलेको अप्ठेरोबाट बाहिर निकाल्न कांग्रेसले कठोर निर्णय लिनुपर्ने बताए। उनले भने, ‘कि न्यायालयभित्रै संवादबाट स्थिति सामान्य हुनुपर्छ, होइन भने नेपाली कांग्रेसले कठोर र निर्मम निर्णय लिनुपर्ने हुनसक्छ ।’ उनले न्यायालय प्रमुखले न्यायालयलाई सही ढंगले चलाउन नसके त्यहाँबाट हट्नुपर्ने र अदालत सही ढंगले चल्नुपर्ने बताए ।

अहिले सत्ता गठबन्धमा रहेका दलहरूबीच निश्चित अवधिसम्म तालमेल हुने बताउँदै उनले निर्वाचनमा कांग्रेस एक्लैले लड्ने आधार तयार गर्न कार्यकर्तालाई निर्देशन दिए ।

नागरिक