काठमाडौं । शाहवंशीय राजाहरुले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटी दरबार संग्रहालयलाई इतिहासका लागि संरक्षण गर्नुको सट्ट सरकारले परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिएको छ । महिनामा जम्मा २ लाख २१ हजार रुपैयाँमा भाडा आउने निश्चित गरी संग्रहालयभित्र धमाधम संरचना बनाइँदै छ ।
नेपाल ट्रस्टको स्वामित्वमा रहेको संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारकै पाला १७ पुस २०७७ मा बतास समूहको बीपीएस लिजिङ कम्पन्नीसँग सम्झौता भएको थियो । आश्चार्यजनक के भने तीन कम्पन्नीबीच प्रतिस्पर्धा गराइएकामा तीनै कम्पन्नी (बतास एसोसिएट्स, बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट र होटल आनन्द) बतास समूहका हुन् । ‘नारायणहिटी रेष्टुरेन्ट’ सञ्चालन गर्न संग्रालयभित्रै रहेको एउटा भवनका लागि मात्र टेनडर सूचना गरिएको थियो । भवनका लागि मासिक न्युनतम २ लाख २० हजार ४ सय ४० निर्धारण गरिएकामा रहस्यमय रुपमा होटल आनन्दले २ लाख २० हजार ५ सय र बीपीएसले २ लाख २१ हजार ६ सय १८ रुपैयाँ कबोल गरेका थिए ।
आफ्नै समूहको दोस्रो कम्पन्नीलाई जम्मा १ हजार १७८ रुपैयाँलेपछि पारेर बीपीएसले करार पाएको थियो । नारायणहिटी दरबारभित्रको २१ सय ७० वर्गफिटको भवन १ सय २ रुपैयाँ प्रतिवर्गफिटका दरले भाडामा लिने ( दिने सम्झौता भएको हाे। ‘भाडा दर निर्धारणका लागि गठित इन्जिनियर पूर्ण श्रेष्ठ र संगीता यादवको समितिले जग्गाको भाडा प्रतिवर्गफिट १ सय १ रुपैयाँ निर्धारण गरेको थियो, त्यसकै आधारमा सम्झौता भएको छ,’ संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले भने ।










प्रतिक्रिया दिनुहोस्