
-विराज रोस्यारा/ ईमेज
कैलाली । कैलाली र कञ्चनपुरमा इट्टा उत्पादन नभएपछि सुदुरपश्चिम प्रदेशमा विकास निर्माणका योजनाहरु प्रभावित बनेका छन् ।
तयार हुनै लागेका काँचा इट्टा केही समयअघिको वर्षाका कारण पूर्ण रुपमा नष्ट भएपछि प्रदेशभित्रका विकासका आयोजनाहरु अलपत्र बनेका हुन् ।
९ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी इट्टा उद्योग रहेका छन् । प्रदेशमा रहेका झण्डै ९० इट्टा उद्योगबाट वार्षिक ४० करोडको संख्यामा इट्टा उत्पादन हुँदै आइरहेको छ ।
वर्षयाममा वर्षाका कारण खासै इट्टा उत्पादन गर्न नसकिने भएकाले त्यसको लागि हिउँदमै पर्खिनुपर्छ । तर मंसिरदेखि माघसम्म परेको हिउँदे वर्षाका कारण यो वर्ष इट्टा उत्पादनमा समस्या भएको छ ।
मंसिर २८ गतेदेखि पटक–पटक परेको हिउँदे वर्षाका कारण ९ करोड काँचो इट्टामा क्षति पुगेको सुदूरपश्चिम इट्टा व्यवसायी संघका महासचिव तथा खप्तड ईट्टा उद्योगका सञ्चालक दिपेन्द्र श्रेष्ठले बताए ।
मौसमका कारण इट्टा व्यवसायीहरु धरासाय अवस्थामा रहेको प्रदेश इट्टा व्यवसायीहरुको भनाइ छ । इट्टा उपलब्ध नहुँदा कतिपय निर्माण कार्य नै रोक्नुपरेको ठेकेदारले बताएका छन् ।
२ महिनादेखि पानी परिरहेकाले इट्टा बनाउन समस्या भएको हो । चालू आर्थिक वर्षमा सञ्चालन हुने योजनाका काम गर्नुपर्ने बेलामा इट्टाको अभाव भएपछि काम ठप्प भएको निर्माण व्यवसायी संघ कैलालीका उपाध्यक्ष ओम पाठक बताउँछन् ।
यता इट्टा व्यवसायीहरुले चैत्र पहिलो साताभन्दा अगाडि इट्टा बजारमा पठाउन सक्ने अवस्था नभएको अवगत गराएका छन् । काँचो इट्टामा क्षति पुगेपछि इट्टा प्रतिगोटा १५ रुपैयाँमा बिक्री हुँदै आएको छ ।
विकासका आयोजना प्रभावित नहुने गरी अन्य ठाउँबाट यसको व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्