काठमाडौं । भूकम्पपछि भौतिक संरचना निर्माणले तीव्रता पाएसँगै सिमेन्ट र डन्डीको माग बढ्दो छ। तर, माग जति बढे पनि स्वदेशी उत्पादनले धानिरहेको छ। बरु यस्ता उत्पादन विदेश निर्यात गर्न सक्ने अवस्थामा पुगेको उद्योगी बताउँछन्।
सिमेन्ट माग वार्षिक १ करोड ३४ लाख मेट्रिक टन छ। उद्योगको क्षमता २ करोड ३० लाख मेट्रिक टन पुगेको उद्योगी बताउँछन्। सबै उद्योगले पूर्ण क्षमतामा उत्पादन गरे निर्यात गर्न सक्ने अवस्था देखिन्छ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बजारलाई चाहिनेभन्दा दुई गुणा बढी उत्पादन गर्ने क्षमता भएको बताउँछन्। विदेशबाट आयात गर्नु नपरेको अध्यक्ष थापाको भनाइ छ।
‘बजारमा माग पनि राम्रै छ। हामीसँग २ करोडभन्दा बढी अर्थात् २ करोड ३० लाख मेट्रिक टनको क्षमता छ’, थापा भन्छन्, ‘अब हामी निर्याततर्फ कोसिस गरिरहेका छौं। सरकारले केही सहुलियत दिए निकासीमा पनि सहज हुन्थ्यो।’
बजारमा खपत गरी १ खर्ब ५० अर्ब रुपैयाँबराबरको निर्यात गर्न सक्ने क्षमता भएको उनी बताउँछन्। तर, मागभन्दा बढी उत्पादन गरिएको छैन। निर्यात गर्न अरू मुलुकसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ।
‘गुणस्तरमा पनि हामी अब्बल छौं। भारतीय सिमेन्टभन्दा हाम्रो मापदण्ड माथिल्लो स्तरको छ। यसैले निर्यात गर्न सक्षम छौं’, उनी भन्छन्, ‘तर, विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सरकारले हामीलाई सहुलियत दिनुपर्छ। यसबारे छलफलमा पनि जुटेका छौं।’ केही विदेशी कम्पनीले विदेशबाटै सिमेन्ट ल्याउने भनी सम्झौता गरेबाहेक अब आयात गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ।










प्रतिक्रिया दिनुहोस्