काठमाडौं । विगतका गल्तीप्रति भयानक आत्मालोचना गर्दै भविष्यमा ‘जनमुखी दल’ बनाउने नेकपा माओवादी केन्द्रको राजनीतिक दस्ताबेज र प्रतिबद्धता महाधिवेशन नसकिँदै अलपत्र परेको छ । ‘जनमुखी कार्यकर्ता र कार्यकर्तामुखी नेता’ छान्ने दस्ताबेज पारित गरेको तेस्रो दिन महाधिवेशनले ‘अध्यक्ष पुष्पकमल दाहालमुखीु केन्द्रीय समिति छानेको छ ।
एमाले माहधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पढेका नामलाई प्रतिनिधिले अनुमोदन गरेपछि माओवादी अध्यक्ष दाहालले ‘पञ्चर्याली’ भनेका थिए । ‘तपाई हामीले एमाले नामको महाधिवेशन पनि देखयौं। मैले त पञ्चर्यालीभन्दा अरु देख्दिनँ,’ मंसिर २५ मा पार्टीको प्रदेश सम्मेलनलाई एकसाथ भर्चुअल उद्घाटन गर्दै दाहालले भनेका थिए, ‘त्यहाँ न कुनै विचार, न कुनै बहस, न कुनै विधि, न कुनै विचार पद्धति । निरंकुशता, विचार शून्यता र विचारहीनताको अधिवेशनका रुपमा गयो त्यो । दुनियाँले देख्यो।’
एमाले महाधिवेशन सकिएको एक महिनामा माओवादी अध्यक्ष दाहालले पनि निर्वाचन समितिको अधिकारमा हस्तक्षेप गर्दै केन्द्रीय समिति सदस्यको सूचीको नाम आफै पढेर सुनाए, महाधिवेशन प्रतिनिधिले ताली पिटेपछि एक साता लामो महाधिवेशन आइतबार साँझ सकियो । २ सय ९९ सदस्यीय केन्द्रीय समितिमा दाहालले २ सय ३६ जनाको नाम मात्र पढेर सुनाए, ६३ सदस्य थप्न बाँकी छ ।
महाधिवेशनले नै छान्न् नसकेका सदस्यहरु कसले कसरी छान्न सक्छ भनेर विधानमा कुनै व्यवस्था छैन । लोकतन्त्रिक प्रतिस्पर्धाबाट नै केन्द्रीय समितिमा चयन गर्न सबैजसो प्रतिनिधिको सुझाव रहे पनि माओवादी नेतृत्वले विधिमाथि बन्देज लगाउँदै ‘सर्वसम्मत’ केन्द्रीय समिति चयन गरेको हो ।










प्रतिक्रिया दिनुहोस्