२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ठूला दलका महाधिवेशनमा बहालवाला शिक्षक प्रतिनिधि


260
Shares

काठमाडौं । एमाले र कांग्रेसपछि माओवादीको महाधिवेशनमा पनि शिक्षक–प्राध्यापक प्रतिनिधिका रूपमा सहभागी भएका छन् । सरकारी सेवासुविधा लिएका शिक्षकलाई महाधिवेशन प्रतिनिधि बनाउनु कानुनविपरीत हो । शिक्षकले पार्टीको राजनीति गर्दा पेसा नै आलोचित छ ।

काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनमा निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकरबहादुर अधिकारी प्रतिनिधि बनेका छन् । शिक्षक संगठनको अध्यक्ष भए पनि अधिकारीले पार्टी संगठनको जिम्मेवारीसमेत लिएका छन् । उनी माओवादीको उपत्यका विशेष प्रदेश कमिटीका कोषाध्यक्ष हुन् । अधिकारी युद्धकालका विस्थापित शिक्षक हुन् । पार्टीले शिक्षक प्रतिनिधिको सूची गोप्य राख्ने प्रयास गरेका छन् ।

त्यसैगरी, बहालवाला शिक्षक झपेन्द्र क्षेत्री, ऋषि काफ्लेसहित दर्जनौँ शिक्षक प्रतिनिधि आएको शिक्षकहरूले बताएका छन् । त्यसैगरी, त्रिभुवन, पोखरा विश्वविद्यलयका स्थायी शिक्षकसमेत महाधिवेशनमा सहभागी भएका छन् । त्रिविका प्रा.डा. राजनप्रसाद पोखरेल, प्रा.डा. सूर्यबहादुर थापा, प्रा.डा. अर्जुन बास्तोला, डा. जगतकृष्ण श्रेष्ठ, डा. हरिराम पराजुली महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका छन् । त्यसैगरी, पोखरा विश्वविद्यालयका डा. खेमराज जोशी पनि महाधिवेशनमा सहभागी छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले सरकारी सेवासुविधा लिएका बहालवाला शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण गर्नसमेत बन्देज गरेको छ । यसविपरीत एमाले तथा कांग्रेसले अधिवेशनमा प्रतिनिधि छनोट गरेका थिए । अहिले माओवादी केन्द्रले पनि शिक्षक प्रतिनिधिका रूपमा भित्र्याएको छ ।

नयाँ पत्रिका