Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


माओवादी महाधिवेशनः समाजवादमा पुग्ने बाटो ‘अस्पष्ट’


117
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमा समाजवादमा पुग्ने बाटो स्पष्ट नभएको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन्।

अध्यक्ष दाहालको प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा भएको छलफलमा सहभागीले समाजवादमा पुग्ने बाटो स्पष्ट नभएकाले महाधिवेशनले तय गर्नुपर्ने सुझाएका हुन्। छलफलमा सहभागीले प्रतिवेदन अपूरो र अस्पष्ट भएको बताएका छन्। उनीहरूले प्रतिवेदन क्रान्तिकारी भए पनि त्यसमा थप सुधारको आवश्यकता औंलाएका छन्।

२५ वटा समूहअन्तर्गत प्रदेश २ को (क) र (ख) का संयोजक गणेश शाहले अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख गरिएको समाजवादको बाटो प्रष्ट नभएको बताए। ‘प्रतिवेदनमा समाजवादको नेपाली बाटो पहिल्याउने प्रयास त गरिएको छ तर दलाल पुँजीपतिको बिगबिगी र भूमण्डलीकरणको वर्तमान अवस्थामा उत्पादन शक्ति र श्रम शक्तिलाई जोड्दै यसलाई व्यवहारिक रुपमा कसरी लागु गर्ने भन्ने प्रष्ट आधार देखिँदैन,’ उनले भने।

प्रतिवेदनमा समाजवादको पर्याप्त विश्लेषण प्रयास गरिए पनि त्यसको निष्कर्ष ननिकालिएको उनले बताए। उनी प्रतिवेदनमा परिमार्जन आवश्यक बताउँछन्। ‘समाजवादको विश्लेषणले मात्र पर्याप्त हुँदैन, यसलाई समाजशास्त्रीय तथा आर्थिक हिसाबले पनि हेर्न आवश्यक छ,’ उनले भने।

ज्येष्ठ कम्युनिस्ट मञ्चका संयोजक एनके ९नन्दकुमार० प्रसाईं पनि दाहालको प्रतिवेदनमा समाजवादबारे अस्पष्टता रहेको बताउँछन्। ‘उहाँ (अध्यक्ष दाहाल) ले भनेको समाजवाद कांग्रेसको समाजवाद हो वा उपेन्द्र यादवले मान्ने समाजवाद हो, त्यो प्रष्ट छैन,’ प्रसाईंले भने।

नागरिक