Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


देउवालाई अर्को अवसर


403
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्। अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो।

कांग्रेस निर्वाचन समितिबाट शनिबार प्रमाणपत्र लिएलगत्तै देउवाले केन्द्रीय समितिको बैठकमार्फत सभापतिका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन्। पहिलो कार्यकालका रूपमा साढे पाँच वर्ष गुजारेका देउवाले पार्टी संगठन सुधारका लागि उल्लेख्य काम गर्न सकेनन्। पार्टीभित्र र बाहिरबाट आलोचनामै पहिलो कार्यकाल गुजारेका देउवाका लागि दोस्रो कार्यकाल विगतलाई सच्याउने एउटा अवसरका रूपमा आएको छ।

विधानको पालना र सहमतिबाट पार्टी सञ्चालन दुवैमा असफल देखिएका देउवाका लागि आगामी दिनमा पनि सोही चुनौती छ। आफू कांग्रेस राजनीतिमा सक्रिय हुँदाका बेला जन्मिएका नेता–कार्यकर्तालाई १४औं महाधिवेशनबाट सहकर्मीका रूपमा देउवाले पाएका छन्। टेबुल ठोकेर पार्टीका विषयमा मात्र होइन, राष्ट्रिय मुद्दामा बहस गर्ने नेताबिनै सुरु भएको दोस्रो कार्यकालमा पदाधिकारीसहित केन्द्रीय समितिमा आएका युवा पुस्तालाई विश्वासमा लिने र अघिल्लो पुस्तालाई समेटेर अघि बढ्ने चुनौती देउवासामु छन्।

रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, कुलबहादुर गुरुङसहितका नेता कांग्रेसको केन्द्रीय समितिमा छैनन्। उनीहरूलाई समेट्नुपर्ने चुनौती देउवालाई छ भने पदाधिकारीमा पराजित केही नेतालाई पनि अटाउनुपर्ने बाध्यता पनि उनीसँग छ।

पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि निरन्तर प्रश्न गर्दै स्थापित भएको पुस्तालाई पार्टी पदाधिकारीमा सम्हाल्दै देउवाले दोस्रो कार्यकलको कार्यसम्पादन गर्नुपर्नेछ। संशोधित विधानसँगै पार्टी केन्द्रीय समितिमा युवाहरूको उपस्थितिले नेता तथा कार्यकर्तामा एउटा ऊर्जा ल्याएको छ। त्यसलाई पार्टी संगठनभित्र शक्तिका रूपमा परिणत गरेर आगामी एक वर्षभित्र हुने तीनै तहका निर्वाचनमा कांग्रेसलाई जिताउने चुनौती र दायित्व देउवामाथि छ।

नागरिक