
काठमाडौं । शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा ०५२ मा निर्माण योजना सुरु भएको नेपाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान ९एकेडेमी० २६ वर्षपछि उनी पाँचौँपटक प्रधानमन्त्री हुँदा बल्ल टेन्डर भएको छ । ०५२ देखि प्रहरीले जग्गा अधिग्रहण तथा प्राप्तिको काम थालेको काभ्रेको पनौतीमा एकेडेमी निर्माणका लागि बुधबार टेन्डर भएको हो ।
भारतीय अनुदानमा निर्माण हुने यो योजनाको शिलान्यास भएकोसमेत सात वर्ष भइसकेको छ । ११ मंसिर ०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । त्यसपछि पनि अनेक विवादमा फसेको आयोजनाको प्रतिष्ठानले बुधबार टेन्डर निकालेको हो ।
सुरुका १९ वर्ष भारतबाट सम्झौता नहुँदा अघि बढ्न नसकेको यो योजना पछिल्लो सात वर्ष भने ठेक्काको मोडालिटीसम्बन्धी विवादले रुमल्लिएको थियो । हाल भारतकै अडानअनुसार टेन्डर प्रक्रिया अघि बढेको हो ।
ढिलै भए पनि आधुनिक एकेडेमी निर्माणका लागि ‘ब्रेक थ्रु’ भएको र बुधबार टेन्डर आह्वान गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । करिब आठ अर्ब ८० करोड रुपैयाँ लागतमा निर्माण हुने आयोजना तीन वर्षभित्र सकिने लक्ष्य राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्