
काठमाडौं, माघ १८ । गएको बुधबारदेखि जारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा शनिबार समूहगत धारणा राख्नेक्रम सकिएको छ ।
शनिबारको बैठकमा विभिन्न समूहका टोली नेताले आ–आफ्नो समूहमा उठेका विषय र निष्कर्ष प्रस्तुत गरेका छन् ।
उठाइएका विषय
१५ ओटै समूहले सरकारी जग्गालगायत विभिन्न अनियमितता, सीमा विवाद, ‘एमसीसी’, नेताहरुको सम्पत्ति छानबिन, भ्रष्टाचार गर्नेलाई मृत्युदन्डको व्यवस्था, सरकार, मन्त्री र पार्टी नेताहरुको काम–कारबाहीलगायतका विषयमा धारणा राखेका छन् ।
यस्तै, पार्टीमा महिला सहभागिता बढाउनुपर्ने, नागरिकतासम्बन्धी विवाद छिटो समाधान गर्नुपर्ने, पार्टीलाई एकताबद्ध गरी संगठन सुदृढीकरण गर्नुपर्ने, समाजवादउन्मुख बनाउन सरकारले पूर्वाधार निर्माण गर्नुपर्नेलगायतका विषय उठाइएका छन् ।
एमसीसी टुंगो लगाउन आयोग गठनको माग
बैठकको समूह–७ ले एमसीसी टुंगो लगाउन विज्ञ र पार्टी नेतासहितको आयोग गठन गर्न माग गरेको छ । उक्त आयोगको ‘रिपोर्ट’पछि पार्टीले श्वेतपत्र जारी गर्नुपर्ने माग गरिएको छ ।
उक्त समूहले कालापानी सम्बन्धमा लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्न र भारतीय सेनालाई नेपालको भूमिबाट हटाउन माग गरेको छ ।
भ्रष्टाचारीलाई मृत्युदन्डको व्यवस्था माग
यस्तै, समूह–५ का टोली नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्दै भ्रष्टाचारीलाई मृत्युदन्डको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
उक्त समूहले यती समूहलाई जग्गा भाडामा दिएकोलगायत विभिन्न अनियमितताको गम्भीर छानबिन गर्न र सार्वजनिक पदमा बसेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्न माग गरेको छ ।
यस्तै, नेताहरुको सम्पत्ति छानबिन गर्न र मन्त्री र पार्टीका नेताहरु विभिन्न कान्डमा मुछिएको विषयमा गम्भीर छानबिन गर्न माग गरेको छ ।
यौन दुर्व्यवहारको छानबिन माग
समूह–१५ ले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोप प्रकरणमा पार्टीले गहन छानबिन गर्नुपर्ने माग राखेको छ ।
जवाफ आइतबार
१५ ओटै टोली नेताले समूहगत छलफलमा उठेका विषयको ‘रिपोर्टिङ’ सकेसँगै अब आइतबार (भोलि) दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष र महासचिवले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्