Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


धानमा सिन्डिकेटः चाहेजति बेच्न नपाउँदा किसान मर्कामा


104
Shares

काठमाडौं । डुडुवा गाउँपालिका–२ का किसान तिलकराम बर्माले ६ बिघामा धान खेती गर्छन्। बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि ९० क्विन्टल धान उनको खेतबाट उत्पादन भयो। तर, त्यही धान सरकारलाई बिक्री गर्न भने उनीमाथि सिन्डिकेट लादियो। बर्माले ३० क्विन्टल मात्र बिक्रीका लागि कृषि ज्ञान केन्द्रबाट सिफारिस पाए। उनीजस्तै राप्तीसोनारी गाउँपालिका–४ बैजापुरका किसान रामप्रसाद थारूले पनि सिन्डिकेटका कारण उत्पादन भएको सबै धान बिक्री गर्न सकेनन्। ४० क्विन्टल उत्पादन गरेका उनले बिक्रीका लागि ३० क्विन्टलको मात्र सिफारिस पाए।

यति मात्र होइन, बेमौसमी वर्षाबाट ठूलो क्षति भोगेका बाँकेका किसानले उत्पादन भएजति धान बिक्री गर्न पाएनन्। कृषि ज्ञान केन्द्रको सिफारिसअनुसार मात्र उनीहरूले धान बिक्री गर्न पाए। ‘किसानले चाहेजति धान बिक्री गर्न नपाउने कस्तो अवस्था आयो,’ थारूले भने, ‘गत वर्ष यस्तो थिएन। यो वर्षमात्र किसानको ढाड सेक्नेगरी नयाँ नियम लगाइएको छ। यो किसानमैत्री छैन।’ किसानले चाहेजति बिक्री गर्न पाउनुपर्ने वातावरण सरकारले बनाइदिनुपर्ने भन्दै अर्का किसान नेपालगन्ज–१८ भुजइगाउँका रामपाल कुमालले भने, ‘त्यति मिहेनत गरेरे उब्जनी गरेको धान बिक्री गर्नै समस्या हुनु भनेको दुखद पक्ष हो।’

नागरिक