Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


देशभर मलको हाहाकार


195
Shares

काठमाडौं । देशभरका किसानले रासायनिक मलको चरम अभाव खेपिरहेका छन् । मुख्य गरी गहुँ र व्यावसायिक तरकारी खेती गर्ने किसान स्थानीय सहकारीमा घन्टौँ लाइनमा बस्दासमेत रित्तो हात फर्किन बाध्य छन् ।

दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थानीय सहकारीमार्फत किसानलाई मल बिक्री गर्छन् । तर, यी कम्पनीका गोदाममै मल रित्तिएपछि सहकारीले पाएका छैनन् । प्रत्यक्ष मारमा किसान परेका छन् । गहुँ छर्ने वेला डिएपी मल राख्न नपाएका किसानले अहिले गहुँ उम्रिएपछि युरिया पनि हाल्न पाएका छैनन् । तरकारी किसानको पीडा पनि त्यस्तै छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गहुँ र व्यावसायिक तरकारी खेतीका लागि यो सिजनमा ६० हजार टन डिएपी र ७० हजार टन युरिया गरी कुल एक लाख ३० हजार टन मलको माग छ । यो माग कात्तिकदेखि माघसम्मका लागि मात्र हो । तर, हाल कृषि सामग्रीको गोदाममा नौ हजार आठ सय टन युरिया र तीन हजार एक सय २२ टन डिएपी तथा साल्ट ट्रेडिङसँग नौ हजार एक सय ६६ टन युरिया गरी कुल २२ हजार १३८ टन मात्रै रासायनिक मल मौज्दात छ । १५ हजार टन युरिया भने आपूर्तिको क्रममा बाटोमै छ । माग पूर्ति गर्न यो मलले छेउ पनि लाग्दैन । मल आपूर्तिमा भएको अस्तव्यस्त हेर्दा किसानले चैते धानमा समेत रासायनिक मल पाउने सम्भावना न्यून छ ।

चालू आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि सरकारले १५ अर्ब अनुदान उपलब्ध गराउने बजेटमै घोषणा गरेको थियो । कृषि मन्त्रालयले यो बजेटबाट तीन लाख नौ हजार टन मल खरिद गर्न सक्ने आकलन गरी कृषि सामग्रीलाई दुई लाख नौ हजार टन र साल्ट ट्रेडिङलाई एक लाख टन खरिदको स्वीकृति दिएको थियो ।

नयाँ पत्रिका