Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


दलहरूलाई सर्वोच्चको परमादेशः कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य


312
Shares

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य सुरक्षित गर्न परमादेश भएको छ।

न्यायाधीशहरू दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले संविधान र राजनीतिक दलसम्बन्धी ऐनले सुनिश्चित गरेको महिलाको उपस्थितिलाई सबै दलको हरेक समितिमा ३३ प्रतिशत गर्न परमादेश जारी गरेको हो। राज्यका हरेक निकाय, राजनीतिक दललाई समावेशी बनाउन संविधानको धारा १८ मा भएको समानतासम्बन्धी व्यवस्था उल्लेख गर्दै महिलाको ३३ प्रतिशत अधिकारलाई सर्वोच्चले मौलिक हकसँग जोडेर व्याख्या गरेको छ।

राजनीतिक दलहरूको महाधिवेशन भैरहेका बेला दर्ता भैसकेका दललाई राष्ट्रिय महाधिवेशनबाट महिलाका लागि ३३ प्रतिशत स्थान सुरक्षित गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतले गत चैतमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। ‘केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला, स्थानीय समितिमा ३३ प्रतिशत पद महिलाका लागि सुरक्षित गरिएको छ, छैन भन्ने हेरी दल दर्ता गराउनू’, फैसलाको हालै सार्वजनिक पूर्णपाठमा भनिएको छ, ‘दर्ता भैसकेका दलको हकमा विधानबमोजिम राष्ट्रिय महाधिवेशनबाट व्यवस्था मिलाउन लगाउनू भनी दलहरूको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ।’

नागरिक