काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने अन्तिम तयारी गरेको छ । गत बिहीबार किसान प्रतिनिधि र शुक्रबार चिनी उद्योगीसँग छलफल गरेपछि मन्त्रालयले उखुको मूल्य टुंगो लगाउने तयारी गरेको हो । किसान र उद्योगीबाट प्राप्त सुझावका आधारमा निर्धारण गरिएको मूल्यमा दुवै पक्षलाई सहमति गराउने योजना छ । गत बिहीबार किसान प्रतिनिधिहरूले उखुको न्यूनतम मूल्य ६ सय ५० रुपैयाँ प्रतिक्विन्टल निर्धारण गर्न आग्रह गरेका थिए ।
गत वर्ष सरकारले प्रतिक्विन्टल पाँच सय ४४ रुपैयाँ उखुको मूल्य निर्धारण गरेको थियो । त्यसमा चार सय ७९ रुपैयाँ किसानको लागत र ६५ रुपैयाँ सरकारी अनुदान थियो । किसानसँग छलफल भएको भोलिपल्टै शुक्रबार उद्योगीसँग कृषिमन्त्री महिन्द्र राय यादवले छलफल गर्नुभएको थियो । सो छलफलमा उद्योगीहरूले गत वर्षको मूल्यमा प्रतिक्विन्टल ५० रुपैयाँसम्म बढाउन सक्ने बताएका थिए । उनीहरूले प्रतिक्विन्टल ५० रुपैयाँभन्दा बढी मूल्य बढाए चिनीको मूल्यसमेत बढ्ने भन्दै बजार प्रणालीबारे अध्ययन गरेर निर्णय गर्न मन्त्री यादवलाई आग्रह गर्नुभएको थियो ।
दुवै पक्षसँग छलफलपछि मन्त्रालयले मंगलबार उखुको मूल्य निर्धारण गर्ने तयारी गरेको हो । उखु उत्पादक कृषक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले तीन वर्षदेखि मूल्य निर्धारण नभएकाले यो वर्ष प्रतिक्विन्टल सय रुपैयाँ बढाइनुपर्ने बताउनु भयो । गत वर्ष पाँच सय ४४ रुपैयाँ निर्धारण गर्दा किसानको लागत मात्रै चार सय ७९ रुपैयाँ तोकेर उद्योगबाट भुक्तानी दिलाएकाले यो वर्ष सो रकम बढ्ने अधिकारीहरु बताउँछन् ।








प्रतिक्रिया दिनुहोस्