Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


महामन्त्री डा.शशांकको नाम देउवा र शेखरको प्यानलमा


260
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको नाम दुई वटा प्यानलमा राखिएको छ ।

शशांकलाई सभापतिका उम्मेदवार प्रधामन्त्री शेर बहादुर देउवा र सभापतिका अर्का उम्मेदवार डा.शेखर कोइरालाको सूचीमा राखिएको पाइएको हो । तर शशांकले भने सभापतिमा शेखरलाई समर्थन गर्ने बताइसक्नु भएको छ ।

शशांकले सभापति देउवाले दिएको उपसभापति पदको प्रस्तावसमेत अस्वीकार गर्नु भएको छ । त्यस्तै कोइराला परिवारकै अर्की सदस्य सुजाता कोइरालाले भने प्रकाशमान सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिनु भएको छ ।

त्यस्तै, सभपतिमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुदैछ । जसमध्ये नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैले सिंह र निधि पहिलो चरणलाई अनिर्णीत बनाउन सके दोस्रो चरणमा आफूहरूको भूमिका सार्थक हुनेमा आशावादी छन् ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ । बिहान ८ बजेदेखि हुने भनिएको मतदान केही ढिला हुने भएको छ ।