Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


देउवा–सिटौला एक ठाउँ, इतर समूह छलफलमै


0
Shares

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ । ‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ महाधिवेशन सुरु भएको हो । उद्घाटन सत्र सकिएपछि साँझ सुरु भएको बन्दसत्र राति नै सकिएको छ ।

महाधिवेशनको उद्घाटनमा देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गरेका छन् । कांग्रेसले १४औँ महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्दै छ । यसअघि नेतृत्व चयन र नीति तथा कार्यक्रम एकैपटक सम्पन्न गर्दै आएको कांग्रेसले यसपटक समय अभावको कारण देखाउँदै छुट्टाछुट्टै प्रक्रियाबाट टुंग्याउने निर्णय लिएको छ ।

सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार
कांग्रेस महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच सहकार्यको प्रारम्भिक सहमति बनेको छ । सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार भएका छन् । सिटौलाले महामन्त्रीमा युवानेता प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सारेका छन् ।

१३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिटौलाले दोस्रो चरणमा निर्वाचन गएपछि देउवालाई सघाएका थिए । उनकै सहयोगमा देउवा सभापति बनेका थिए । महामन्त्री र सहमहामन्त्रीसहित सदस्यहरू लिएर देउवाको समूहसँग सहकार्यको अन्तिम टुंगो लागेमा सिटौला यसपटक उम्मेदवार बन्नेछैनन् ।

स्रोतका अनुसार महामन्त्री र सहमहामन्त्रीको प्रारम्भिक सहमति हो, सिटौलाले अन्य सदस्यबारे पनि प्रस्ट सहमति गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, यसबारे देउवाले निर्णय दिएका छैनन् । ‘महामन्त्री र सहमहामन्त्रीका विषयमा एक किसमको छलफल–सहमति भएको हो । तर, त्यो अन्तिम हो भन्न सकिन्न । किनभने, सदस्यका विषयमा कुरा मिलेन भने दुईजना पदाधिकारी मात्रै जाने कुरा पनि हुँदैन,’ सिटौलानिकट एक नेताले भने । स्रोतका अनुसार शुक्रबार बिहान सभापति देउवाले यस विषयमा नेता सिटौलासँग छलफल गरेका थिए । त्यही प्रारम्भिक सहमति बनेको थियो ।

नयाँ पत्रिका