
काठमाडौं । व्यवसायी तथा पूर्वसभासद् इच्छाराज तामाङको सम्पत्ति छानबिनका लागि रोक्का भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत बिहीबार उनको नाममा रहेको अधिकांश सम्पत्ति रोक्का राख्न विभिन्न निकायलाई पत्राचार गरेको छ ।
सत्तारुढ नेकपानिकट व्यवसायी तामाङ सिभिल बैंकका अध्यक्ष र सिभिल होम्सका सञ्चालक हुन् । उनले सिभिल सहकारीसमेत चलाउँदै आएका छन् । उनको केही बैंक खाता पनि रोक्का गरिएको छ ।
विस्तृत अनुसन्धानको क्रममा मुद्दा नै चलाउनुपर्ने अवस्था देखिएकाले सम्पत्ति रोक्का राखिएको स्रोत बताउँछ । विभागले उनलाई बयानका लागि बोलाउने तयारी गरेको छ । गत असोजदेखि तामाङमाथि विभागले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान थालेको हो ।
उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का राखिएको विभागका एक अधिकारीले बताए । हालसम्मको छानबिनमा उनीसँग करिब ६० करोडबराबरको सम्पत्ति भेटिएको स्रोत बताउँछ ।
विभागको अनुसन्धानमा सहकारीको ९० प्रतिशतभन्दा धेरै रकम नियमविपरीत आफ्नो कम्पनीको नाममा लिइएको पाइएको छ । सहकारीकै अनियमितताको विषयमा परेको उजुरीउपर छानबिन सुरु गरी विभागले विस्तृत छानबिन अघि बढाएको हो ।
विभाग स्रोतका अनुसार विभिन्न २४ वटा कम्पनीमा उनको लगानी देखिएको छ । सिभिल होटेल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, कोत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत कम्पनीको सेयरसमेत रोक्का राखिएको छ । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्