Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


जबरा अस्पतालमा छन्, बिदामा छैनन्


0
Shares

काठमाडौं । प्रधानन्यायाधीश अदालत उपस्थित हुन असमर्थ भएको अवस्थामा बिदा बसेर वरिष्ठतम न्यायाधीशलाई कायममुकायमको जिम्मेवारी सुम्पिनुपर्ने संविधानमै व्यवस्था छ । तर, कोरोना संक्रमणसँगै निमोनिया भएर सोमबारदेखि बलम्बुस्थित प्रहरी अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा औपचारिक बिदामा बसेका छैनन् ।

संविधानको धारा १२९ को उपधारा ६ मा भनिएको छ, ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्नेछ ।’ तर, अस्पतालमा रहेका प्रधानन्यायाधीश जबराले अदालत उपस्थित हुन असमर्थ भएको वा बिदामा बसेको औपचारिक जानकारी सर्वोच्च प्रशासनलाई नगराउँदा वरिष्ठतम न्यायाधीशलाई जिम्मेवारी सम्हाल्न बाधा भएको छ । मंगलबार अस्पतालको बेडबाटै पेसी तोकेर अनौठो अभ्यास गरेका जबराले बुधबार कार्यालय समयसम्म पनि सर्वोच्च प्रशासनमा बिदा बसेको लिखित वा मौखिक कुनै जानकारी गराएका छैनन् ।

नेपालको इतिहासमै पहिलोपटक सर्वोच्चमा बुधबारदेखि गोला प्रणालीबाट इजलास र पेसी तोक्न सुरु भए पनि प्रधानन्यायाधीश जबराले अदालतलाई अझै अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै नेपाल बार र सर्वोच्च बारले असन्तुष्टि जनाएका छन् । प्रधानन्यायाधीशपछि वरिष्ठता क्रममा पहिलो नम्बरमा रहेका न्यायाधीश दीपककुमार कार्कीले गोला तानेर पेसी तोक्ने कार्यको सुरुवात गरे पनि बारले सर्वोच्च नेतृत्वको विषयमा प्रश्न उठाएपछि बुधबार केही इजलास बस्न सकेनन् ।

नयाँ पत्रिका