पोखरा, माघ ६ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विशेषगरी नेपालको जलस्रोत र पर्यटन क्षेत्रमा लगानी गर्ने जनाएको छ ।
गण्डकी प्रदेशको कास्कीस्थित रुपाकोटमा दुई दिनसम्म भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले विभिन्न १४ बुँदे निर्णय गर्दै नेपालको जलस्रोत र पर्यटन क्षेत्रमा लगानी गर्ने निर्णय गरेको हो ।
सोमबार पोखरामा पत्रकार सम्मेलन गरी बैठकको निर्णयबारे जानकारी गराउनेक्रममा लगानी विस्तारबारे उल्लेख गरिएको हो ।
एनआरएनए अध्यक्ष कुमार पन्तले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न संघले सक्रियतापूर्वक विभिन्न कार्यक्रम सुरुआत गरिसकेको जनाउँदै अझै ठोस कार्यक्रम ल्याउने बताए ।
संघका राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्को वार्षिक कार्यक्रमको रणनीतिक योजनासहित एकमुष्ट विवरण एक महिनाभित्र सार्वजनिक गर्ने पन्तको दाबी छ ।
काठमाडौंमा तीन महिनाअघि सम्पन्न सम्मेलनपश्चात् पोखरामा भएको समन्वय परिषद्को बैठकले अबको कार्यकालका लागि विस्तृत कार्ययोजना तयार पारेको र संघका सबै विभागको कार्ययोजना विवरण एक महिनाभित्र प्रकाशित गर्ने निर्णय गरेको छ ।
यस्तै, नेपाल सरकारको साझेदारीमा आगामी अक्टोबरमा दोस्रो एनआरएन विश्व विज्ञ सम्मेलन गर्ने, आगामी अक्टोबरभित्र एनआरएन फाउन्डेसन दर्ता प्रक्रिया टुंग्याइने पनि बैठकले निर्णय गरको छ ।
भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राक बस्ती पुनःनिर्माणक्रममा एनआरएनले ५७३ घर निर्माण गरिसकेको र स्थानीयले शौचालयसमेत माग गरेकाले तत्कालै उक्त काम पनि सम्पन्न गरिने अध्यक्ष पन्तले जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्