भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा सरकारले सोमबारदेखि बिहान खाद्यान्न पु¥याउने भएको छ । त्यसका लागि सेनाको हेलिकोप्टर आइतबार साँझ ४ बजे हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । सिमकोटबाट ११ क्विन्टल चालम लगेर हेलिकोप्टर बिहान साढे ६ बजे लिमी क्षेत्र पुग्नेछ ।
सिमकोटबाट लिमी पुग्न करिब आधा घन्टाको हवाई दूरी छ । हुम्लाका सिडिओ गणेश आचार्यले सदरमुकामस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा रहेको चामल लिमी क्षेत्रमा पठाउन लागेको बताए । ‘सिमकोटबाट हेलिकोप्टर खाली पठाउनुभन्दा लिमी क्षेत्रमा ११ क्विन्टल चामल बोकाएर पठाउन लागिएको हो,’ उनले भने, ‘लिमीमा चामल खसालेपछि हेलिकोप्टर हिल्सा जानेछ ।’
चीनले नाम्खा गाउँपालिकालाई अनुदानमा उपलब्ध गराएको चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा चामल हिल्सामा थन्किएको छ । त्यसमध्ये एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल लिमी क्षेत्रका तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय गाउँपालिकाले गरेको छ । यो खाद्यान्न हेलिकोप्टरले लिमी क्षेत्रमा ढुवानी गर्नेछ ।
लिमी क्षेत्रमा खाद्यान्न पु¥याउन झन्डै तीन दिन लाग्ने सिडिओ आचार्यले बताए । ‘हिल्सादेखि लिमी क्षेत्रको हवाई दूरी १० मिनेटको हो । तर, हिमपातका कारण हेलिप्याडसमेत राम्रो नभएकाले एकपटकमा बढीमा १५ क्विन्टल मात्रै ढुवानी हुन्छ । त्यसैले हेलिकोप्टरले धेरैपटक ओसार्नुपर्ने भएको हो,’ आचार्यले भने । गृह मन्त्रालयको पहलपछि आइतबार दिउँसो सेनाको हेलिकोप्टर हुम्लाका लागि उडेको हो ।
काठमाडौंबाट उडेको हेलिकोप्टर सुर्खेतमा अवतरण गरेको थियो । त्यहाँबाट २४ सय लिटर हवाई इन्धन बोकेर साँझ ४ बजेतिर सिमकोट अवतरण गरेको थियो । सोमबार बिहानै लिमी हुँदै हिल्सा पुग्ने हेलिकोप्टरले तेलसमेत बोकेर जानेछ । हिल्सा–लिमी क्षेत्रमा खाद्यान्न ढुवानी गर्दा तेल सकिए पुनः सिमकोट आएर भर्नेछ । अहिले लगेको तेल अपुग हुने भए पुनः सुर्खेत आएर लैजाने कार्यतालिका रहेको सिडिओ आचार्यले बताए ।










प्रतिक्रिया दिनुहोस्