Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


रामदेवलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न सरकारको प्रस्ताव


0
Shares

काठमाडौं, मंसिर ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ ।

आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्री पशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा पर्यटन मन्त्री प्रेम बहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव राख्नुभएको हो ।

मन्त्री आलेले बाबा रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र दिनुभयो । नेपाल वुद्ध र सगरमाथाको देश भनेर विश्वभरि चिनाउन योग गुरु रामदेवको भूमिका महत्वपूर्ण हुने मन्त्री आलेले बताउनुभयो ।

गुरुको माध्यमले भारतबाट नेपालमा धेरै भन्दा धेरै पर्यटक आउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । कोभिड–१९ को संक्रमण नेपालमा निकै कम भएको र धेरैले खोप लगाइसकेको उल्लेख गर्दै मन्त्री आलेले नेपालको पर्यटनको प्रचार प्रसार गरिदिन योगगुरु रामदेवलाई आग्रह गर्नुभयो ।

सो अबसरमा योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताउनुभयो । उहाँले मन्त्रालयको प्रस्तावलाई गम्भिरतापूर्वक छलफल गरेर निर्णय लिने बताउनुभयो ।

नेपाललाई समृद्ध बनाउन पतञ्जली योगपिठले गर्न सक्ने योगदानलाई कार्ययोजना बनाएर लागु गर्ने उहाँले बताउनुभयो ।