Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


एमालेमा केन्द्रीयता हाबीः ‘हाई कमान्ड’कै निर्देशनबमोजिम प्रतिनिधि छनोट


0
Shares

काठमाडौं । एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी ‘हाई कमान्ड’ ९मूल नेतृत्व० ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हाबी भएको हो। पार्टी संकटमा रहेको र एमालेभित्र एकता कायमै रहेको देखाउनुपर्ने बाध्यतालाई ध्यान दिँदै हाई कमान्डले प्रतिनिधि छनोटका लागि सर्वसम्मत तरिका अपनाउन निर्देशन दिएको हो।

सबैभन्दा लोकतान्त्रिक विधि नै सर्वसम्मत विधि भएकाले पनि प्रतिनिधि छनोटमा यसलाई अपनाइएको एमाले नेताहरूले बताएका छन्। राति अबेरसम्म सबै जिल्ला र कमिटीहरूलाई सर्वसम्मत प्रतिनीधि छनोट गर्ने बाध्य पारिएको जिल्ला नेताहरूले बताएका छन्। शनिबार सर्वसम्मत नभएका स्थानमा भने आइतबारसम्ममा सर्वसम्मत रूपमै छनोट गरी केन्द्रमा प्रतिनिधिको नाम पठाउन पनि निर्देशन दिइएको छ। ‘सबै स्थानमा सर्वसम्मत गराउने निर्देशन छ, त्यहीअनुसार सबै कमिटीमा प्रतिनिधि छनोटको प्रक्रिया सर्वसम्मत हुन्छ,’ निर्वाचन प्रक्रियामा रहेका एक नेताले भने।

एमालेले करिब ८ लाख संगठित सदस्यबाट १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश छनोट गर्ने कार्यलाई सर्वसम्मत बनाइसकेको छ। एमालेले देशका सबै भौगोलिक, गैरभौगोलिक कमिटी, जनसंगठन र प्रवासमा शनिबार एकै दिन प्रतिनिधि छनोट सुरु गरेको थियो। केही जिल्लाले बिहीबार र शुक्रबार नै सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिसकेका पनि छन्। आगामी १० देखि १२ मंसिरमा चितवनमा हुने दसौं महाधिवेशनमा यसरी छनोट भएका १ हजार ९ सय ९९ प्रतिनिधिले पार्टीको मूल नेतृत्वसहित केन्द्रीय कमिटी सदस्यहरू निर्वाचित गर्नेछन्।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबार साँझबाट सुरु भएको प्रतिनिधि छनोट प्रक्रिया शनिबारसम्म आइपुग्दा अधिकांश स्थानमा सर्वसम्मत ढंगले चयन भइसकेको बताए।

नागरिक