२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बेलायती राजपरिवारमा ह्यारी दम्पतीको निर्णयबारे सामूहिक छलफल


0
Shares

लन्डन, पुस २८ । बेलायती राजकुमार ह्यारी दम्पतीको निर्णयकाबारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ ।

महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारीसमेतका बीचमा छलफल भएको राजपरिवार स्रोतले जनाएको छ ।

राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिकरुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफलकेन्द्रित भएको थियो ।

बैठकमा सहभागीहरुले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन आग्रह गरेका थिए ।

ह्यारीका पिता तथा युवराज चाल्स र उनका दाइ विलियमलगायतले पनि ह्यारी दम्पतीलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेको बेलायती सन्चारमाध्यमहरुले जनाएका छन् ।

ओमनका सुल्तान काबोसलाई श्रद्धाञ्जलि दिन ओमन पुगेका युवराज चाल्स उताबाट फर्किएर बैठकमा सहभागी भएका हुन् ।

मेगन पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो । उनलाई क्यानडाबाटै बैठकमा सहभागिताका लागि आउन आग्रह गरिएको थियो ।

व्यक्तिगत जीवनका लागि उनीहरुले फेरि ‘अर्को कदम’ चाल्नसक्ने आशंका गरिएको छ ।

महारानीले समाधान खोज्दै गर्दा ह्यारी पत्नी मेगन भने केही दिनअगाडि नै क्यानडा गएकी थिइन् ।

ह्यारी र मेगन क्रिसमसको बिदा मनाउन छोरा आर्चीलाई लिएर क्यानडा गएर फर्किएपछि अप्रत्याशितरूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले त्यस्तो घोषणा गरेका थिए ।

ह्यारी र मेगनको घोषणाका कारण राजपरिवारमा खैलाबैला मच्चिएको छ ।

दरबार स्रोतकाअनुसार यस्तो घोषणा गर्नुअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग परामर्श गरेका थिएनन् ।

राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ह्यारी दम्पतीको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्शपछि सोमबारको छलफल भएको हो । रासस/एएफपी