Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


निजामतीमा तीन तहको पद थप्ने तयारी


0
Shares

काठमाडौ । सरकारले संघीय निजामतीसम्बन्धी अध्यादेशमार्फत अधिकृतदेखि सचिवसम्म तीन पद थप गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अधिकृतबाट उपसचिव, उपसचिवबाट सहसचिव र सहसचिवबाट सचिवमा बढुवा हुनुअघि एक–एक श्रेणी थप गर्न छलफल भइरहेको छ ।

पदको नाम भने यकिन भइसकेको छैन । ‘अनौपचारिक रूपमा राजनीतिक तहमा पनि सामान्य छलफल चलेको छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

सरकारले संसद् बन्द गरेर संघीय निजामतीको पूर्ण वा आंशिक अध्यादेश ल्याउने तयारी गरिरहेको छ । निजामतीमा पद थप्दा प्रदेश सचिव, विभागीय प्रमुख, उपसचिव र अधिकृत प्रमुख भएका कार्यालयहरूमा कनिष्ठ र वरिष्ठका आधारमा कामकाज गराउन सहज हुने अपेक्षा गरिएको मन्त्रालयका अधिकारीहरूले बताए । न्याय कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अतिरिक्त सचिवलगायतका तीन तहमा नयाँ दरबन्दी सिर्जना गराउने विषयमा अनौपचारिक छलफल भएको पुष्टि गरे । ‘अतिरिक्त सचिवको विषयमा कुराकानी भएको छ,’ उनले भने, ‘निजामती ऐनमा धेरै विषय समावेश गर्नुपर्ने भएपछि अधिकृतमाथि सचिवसम्म एक–एक पद थप्ने विषय उठेको हो ।’

एउटै तहको दरबन्दी एकभन्दा बढी भएका कार्यालयमा कनिष्ठ हाकिम हुने र वरिष्ठले उसको मातहतमा रहेर काम गर्नुपर्ने अवस्थाले कर्मचारीको मनोबल घट्ने, द्वन्द्व बढ्ने र कार्यालय सञ्चालन नै सहज रूपमा नहुने अवस्था नयाँ पद सिर्जनापछि अन्त्य हुने अधिकारीहरूको दाबी छ । वरिष्ठ र कनिष्ठको समस्या पालिकाहरूमा समेत छ । स्थानीय तहमा कनिष्ठ कर्मचारी हाकिम भएपछि वरिष्ठले कामै नगर्ने वा सरुवा भएर अन्यत्र जाने गरेको देखिएको छ ।

कान्तिपुर