Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राजनीतिक सौदाबाजी गम्भीरः न्यायाधीशहरू


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले गठबन्धन सरकारमा भागबण्डा खोजेर राजनीतिक सौदाबाजी गर्नु गम्भीर विषय भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्नुपरेको ठहर गरेका छन्।

न्यायपालिकाको नेतृत्व अक्षम भएका कारण न्यायमा अवरोध र विचलन आएको, पेसी तोक्दा पारदर्शिता नभएको ठहरसमेत उनीहरूको छ। न्यायाधीशले राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका कारण सुनुवाइ प्रभावित भएको छ। सर्वोच्चमा प्रधानन्यायाधीशसहित २० जना न्यायाधीश रहेकोमा १९ जना राणाका विपक्षमा देखिएका छन्।

प्रधानन्यायाधीशले भने कुनै पनि हालतमा राजीनामा नगर्ने बरु महाभियोग सामना गर्न तयार रहेको बताइसकेका छन्। उनले संवैधानिक बाटोबाटै बाहिरिन तयार रहेको अडान सार्वजनिक गरेका हुन्। राणाको अडान सार्वजनिक भएपछि न्यायाधीशहरूले शुक्रबार बैठक बसेर अगाडिको बाटो तय गर्ने भएका छन्।

मुद्दा सेटिङको विषय बारम्बार उठिरहेका बेला राजनीतिक सौदाबाजी गर्नुलाई आफूहरूले गम्भीर रूपमा लिएको एक न्यायाधीशले बताए। ‘सेटिङ भएको ठाउँमा न्याय पाउनेमा स्वाभाविक रूपमा विश्वसनीयता हुँदैन।

फैसला गरेर र बेन्च बसेर मात्रै होला र’, एक न्यायाधीशले भने, ‘त्यसैले राजीनामा दिएर बाटो खोलिदिन आग्रह गरेका हौं। राजीनामा मागेपछि भएका इजलास गठनमा पनि न्यायाधीशहरूको चित्त बुझेको देखिँदैन। कनिष्ठ र वरिष्ठ नमिलाई बेन्च गठन भएको देख्न सकिने एक न्यायाधीशले बताए।

नागरिक