११ असार २०८२, बुधबार | Wed Jun 25 2025


सहकारीसँगै डुबे इच्छाराज


0
Shares

काठमाडौं । बुवा लाहुरे भएकाले सानैमा सिंगापुर गए, ओखलढुंगाका इच्छाराज तामाङ। मलेय र अंग्रेजी भाषामा पढे। बुवा नौ वर्षमा नेपाल फर्किए। त्यसपछि काठमाडौं आई इच्छाराजले एसएसली उत्तीर्ण गरे। पुल्चोक इन्जिनियरिङ कलेजमा तीन वर्षे ओभरसियर पढे। छात्रवृत्ति पाएर पढ्न रुस ९तत्कालीन सोभियत संघ० पुगे। सात वर्ष अध्ययन गरी फर्किएर पुल्चोकमै पढाउन थाले। त्यहींका अध्यापकहरू मिलेर २०५७ सालमा खोलेका थिए सिभिल सहकारी। अर्थात्, सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ।

सुरुमा सहकारीको विनियमावलीमै घरजग्गाको कारोबार गर्ने व्यवस्था राखे। तर, २०६८ मा सहकारीको मापदण्ड आएपछि सहकारी विभागले त्यसलाई हटाउन लगायो। तब उनले सिभिल होम्स बनाएर घरजग्गाको कारोबार गर्न थाले। उनले सिभिल ग्रुपअन्तर्गत विभिन्न कम्पनीमा ८ अर्ब ६७ करोड ३८ लाख ऋण लगे। सहकारीमा नातेदार र आसेपासेलाई राखे। अन्य सञ्चालकले वास्ता गरेनन्। जसले गर्दा उनको मनपरी चल्यो।

१० वर्ष सहकारीको नेतृत्व गरे। आफूले अध्यक्ष पद छाडेर श्रीमतीका मामा केशवलाल श्रेष्ठलाई उक्त ठाउँमा ल्याए। मामाससुरा–ज्वाइँले मिलेमतो गरी सहकारीका निक्षेपकर्ताको रकम सिभिल ग्रुपमा लगे। आकर्षक ब्याजको लोभ देखाइ निक्षेप तानेर ‘ठगीको बाटो’ अपनाएको एक निक्षेपकर्ता बताउँछन्। ती पीडितका अनुसार तामाङ र श्रेष्ठ धनाढ्य व्यक्तिलाई विश्वासमा लिई सहकारीमा निक्षेप तान्न सफल भए।

अर्का निक्षेपकर्ता डिल्लीप्रसाद भट्टराई आफू, श्रीमती, भाइ, बुहारीसहित आफन्तले २ करोड रकम जम्मा गरेको सुनाउँछन्। तर, कसैले पनि एक पैसा फिर्ता नपाएको भट्टराईको गुनासो छ।

सहकारीका निक्षेपकर्ता २ हजारभन्दा बढी रहेको जनाइएको छ। जसमध्ये कसैले पनि पाँच वर्षदेखि निक्षेप फिर्ता पाएका छैनन्। सहकारीको कुल निक्षेपकोे ९० प्रतिशत ऋण तामाङका कम्पनीमा गएको जनाइएको छ।

कानुनतः व्यक्तिबाहेक कम्पनीलाई ऋण दिन पाइँदैन। तर, फितलो नियमनको फाइदा उठाउँदै तामाङ र श्रेष्ठले निक्षेपको कैयौं गुणा बढी ऋण सहकारीबाट कम्पनीमार्फत बिनाधितो लगेको जनाइएको छ। नियामक निकायले उनीहरूलाई कारबाही गर्न सकेको थिएन। तामाङले सहकारीको भवनसमेत आफ्नो कम्पनीको नाममा बनाइसकेका छन्।

अन्नपूर्ण