Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


कोरोना खोप सरकारको पहिलो प्राथमिकतामा छ : प्रधानमन्त्री देउवा


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नागरिकका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागिरहेको बताउनुभएको छ। सरकारको पहिलो प्राथमिकता नै कोरोना भाइरसविरुद्धको खोप रहेको पुनः दोहो¥याउँदै प्रधानमन्त्री देउवाले करोडौं नागरिक खोपबाट लाभान्वित भइसकेको बताउनुभयो।

नेपाल चिकित्सक संघद्वारा आयोजित स्वास्थ्य शिखर सम्मेलनको शनिबार राजधानीमा उद्घाटन गर्दै कोरोना जस्ता महामारी र विभिन्न विपद्को सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानुनी प्रबन्ध हुनुपर्ने प्रधानमन्त्री देउवाले बताउनुभयो।

प्रधानमन्त्री देउवाले कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहने भन्दै कुनै पनि महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा समेत जोड दिनुभयो।नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणालीभित्र रही नेपाली जनतालाई यो विद्यमान महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने सम्बन्धमा नेपाल सरकार निरन्तर लागिपरिरहेको उहाँको भनाइ छ।

यस्तै संघका अध्यक्ष डा. लोचन कार्कीले कोभिड–१९ बारे विश्वमै विभिन्न खोज तथा अनुसन्धानमूलक गतिविधिहरु निरन्तर भइरहेको अवस्थामा नेपालले यस महामारीको सामना गरिरहँदाको अनुभव एकै ठाउँमा राख्ने वातावरण बनाउन सम्मेलन गरिएको स्पष्ट पार्नुभयो।
वहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको बाजी लगाउँदै नेपाली नागरिकहरुको जीवनरक्षाका निम्ति उपलब्ध सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै स्वास्थ्य सेवा प्रवाहमा निर्वाह गरेको भूमिकाको प्रशंसा व्यक्त गर्नुभयो।