Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


‘एमसिसीका आलोचकलाई कारबाही नगर’


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले एमसिसीलगायत देशमा सञ्चालित आयोजनाबारेमा नकारात्मक टिप्पणी गरेको आधारमा कसैलाई पनि कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले संविधानको धारा १७ ले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको र त्यसअन्तर्गत सकारात्मक, नकारात्मक, समीक्षात्मक टिप्पणी पर्ने हुँदा गृहले जारी गरेको विज्ञप्तिको आधारमा कसैलाई कारबाही गर्न नपाइने आदेश सोमबार गरेको हो।

गृह मन्त्रालयले मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष–परोक्ष सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाइने भन्दै विज्ञप्ति जारी गरेको थियो।

त्यस विज्ञप्तिले अभिव्यक्ति स्वतन्त्रतामा ठेस पुगेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। गृह मन्त्रालयले कुनै पनि विदेशी व्यक्ति, सञ्चालित आयोजनाविरुद्ध नकारात्मक अभिव्यक्त गर्न नहुने विज्ञप्ति जारी गरेको थियो।

अधिवक्ता प्रवेश केसीले संविधानले अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकमा राखेकाले सरकारले बोल्न हुन्न भन्नु संविधानविपरीत भएको भन्दै गृह मन्त्रालयविरुद्ध रिट निवेदन दर्ता गरेका थिए।

नागरिक