Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


टुकुचै गायब : मुनि नदी, माथि सहर


0
Shares

काठमाडौं स् कमलादीको काठमाडौं प्लाजा पछाडि क्षेत्रबाट नारायणहिटी दरबारसम्म टुकुचा नदी गायब छ। जहाँ नदी अतिक्रमण गरी त्यसमाथि ठूलाठूला भवन, व्यापारिक प्रतिष्ठान, घर ठड्याएका छन्। यस्ता सयौं रोपनी सार्वजनिक सम्पत्ति हडपेर व्यक्तिले आफ्नो नाममा पारेका छन्।

काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ हात्तीसार क्षेत्रमा मात्रै ५० भन्दा बढी ठूला घर टुकुचामाथि बनिसकेको बताउँछन्। लक्ष्मी बैंक, जयनेपाल हल, सिद्धार्थ बैंक, सन नेपाल लाइफ इन्स्योरेन्सलगायत दर्जनौं व्यापारिक प्रतिष्ठानका भवन टुकुचामाथि ठडिएका छन्।

हात्तीसारमा भेटिएका चित्रबहादुर श्रेष्ठले टुचुका ‘अन्डरग्रान्ड’ बगिरहेको सुनाए। ‘हात्तीसार क्षेत्रमा टुकुचा देखिँदैन। यहाँ मुनि–मुनि गएको छ’, श्रेष्ठले भने। ‘अरू त यहाँ केही पाउनु हुन्न। यो मंगलभन्दा तल टुकुचा लगिएको छ। माथि त केही अस्तित्वमा नै देखिँदैन’, टुकुचा कहाँ छ भन्ने प्रश्नमा उनले भने, ‘बाहिरबाट त कहाँ देखिनु रु यहाँ त घर मात्रै देख्नुहुन्छ। यहाँ टुकुचामाथिको सबै जग्गा अतिक्रमण भइरहेको छ।’

नारायणहिटी दरबारको उत्तरतर्फ किया मोटरको सोरुमबाट टुकुचा छिरेको छ। दरबारभित्र कुलोजस्तो मात्र रहेको जनाइएको छ। त्यहाँबाट काठमाडौं प्लाजाको पछाडि आधा किलोमिटरभन्दा बढी क्षेत्रसम्म नदी गायब छ।
नारायणहिटी अगाडि भेटिएका उत्तम पौडेलले यो क्षेत्रमा आफूले खोला नदेखेको बताए। ‘मैले त यता टुकुचा देखेको छैन’, पौडेलले भने, ‘नारायणहिटीको उत्तर ढोकानजिक कियाको सोरुमबाट पसेको र काठमाडौं प्लाजाको पछाडि निस्किएको चाहिँ देखेको छु। बीचमा कहीँ पनि देखेको छैन। भूमिगत रूपमा लगिएको छ रे भन्ने सुनेको छु। लक्ष्मी बैंक तल त छ रे।’

अन्नपूर्ण