Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


साझा बन्दै तीज


0
Shares

काठमाडौं । हरितालिका तीज पर्व नेपाली महिलाको साझा पर्व बन्दै गएको छ। भाद्र शुक्ल तृतीयका दिन मनाइने यो पर्वलाई हरेक जाति तथा समुदायका दिदीबहिनीले महत्व दिँदै आएका छन्। भोजपुर तिवारी भञ्ज्याङकी ८० वर्षीया कृष्णमाया घले चाडपर्व सबैको साझा भएको बताउँछिन्। भन्छिन्, ‘तेरोमेरो होइन, चाड सबैको साझा हो।’

उनका अनुसार बर्खा ९असार–साउन०मा कामले लखतरान बनाउँथ्यो। भदौमा भने अलिक फुर्सद मिल्थ्यो। मनमा एक खालको उमंग छाउँथ्यो। धानका गाभा हरियो बन्दै जान्थे। खोलानाला उर्लिरहेकै हुन्थे। त्यो बेला बहिनीलाई दर ख्वाउने निम्तो लिएर माइतबाट दाइ टुप्लुक्क आइपुग्थे।
तब कोसेलीपात बोकेर उनी माइत जान्थिन्। माइतीमा दर खाँदै छमछमी नाचेको सम्झना उनी गर्छिन्। घिउमा बेसारसहित चामल राखेर पकाएको चाम्रे, तिलको छोप राखेको अचार, मासुका परिकार उनको सम्झनामा छ।

उनी सानो छँदा आमा र काकीहरूसँग तीजको अघिल्लो मध्यरात दर खाइएको सम्झना गर्छिन्। आफूले छोरीहरूलाई उसरी नै दर ख्वाउने गरेको उनी बताउँछिन्। उनका अनुसार एक पुस्ताबाट अर्कोमा परम्परागत शिक्षा सार्न यस्ता चलन आवश्यक छ। तर, निराहार ब्रत बसेर पञ्चमीका दिन पानीको मुहान खोज्दै नुहाउन जाने चलन परिवर्तन भएको उनको बुझाइ छ। ताप्लेजुङको फुङलिङ नगरपालिका–५ मा आदिवासी जनजातिको बाहुल्य छ। तर, यहाँ सबै जात, धर्म तथा समुदायका मानिसले तीजलगायत चाडवाड मिलेरै मनाउँदै आएको ५९ वर्षीया हिमादेवी ओझा बताउँछिन्। वडाध्यक्षसमेत रहेकी ओझा भन्छिन्, ‘छिटफुट कसैले मान्दैनन्। नत्र सबैले तीज मान्छन्।’

चाडपर्व कसैको पेवा नहुने उनको ठम्याइ छ। त्यसैले १५ वर्षदेखि प्रत्येक तीजमा बृहत् कार्यक्रम आयोजना गर्दै आएको उनी सुनाउँछिन्। ‘सामाजिक सद्भाव भड्काउन हुँदैन। हामी सबै मिलेर चाडबाड मनाउँछौं’, उनी भन्छिन्। ब्राह्मण, क्षेत्रीजस्तै जनजाति समुदायमा पहिलादेखि नै तीज मनाउँदै आएको आफूले देखेको उनको भनाइ छ।

काठमाडौं कपनकी रजनी श्रेष्ठ अन्तरजातीय विवाहका कारण पनि संस्कृतिहरू अझै साझा बन्दै गएको अनुभव सुनाउँछिन्। श्रेष्ठले पौडेलसँग विवाह भएपछि तीज मनाउन थालेकी रहेछन्। तर, यो पर्वमा कठोर ब्रत बस्नुपर्छ भन्ने सुनेकाले सुरुमा डर लागेको उनको भनाइ छ। भन्छिन्, ‘व्रतमा गाह्रो भएर नाँच्दानाँच्दै बेहोस भएका किस्साहरू सुनेकी थिएँ। तर, नयाँ परम्परालाई आत्मसात गर्नु चुनौतीका साथै रमाइलो हुने रहेछ।’

अन्नपूर्ण