Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


कांग्रेसमा महाधिवेशन चटारोः निजी कार्यालय खोलेर कार्यकर्तासँग जोडिँदै नेताहरू


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले सम्पर्क कार्यालय खोल्न थालेका छन्।कांग्रेस उपसभापति विमलेन्द्र निधिले शुक्रबार नयाँबानेश्वरको थापागाउँमा महाधिवेशनका लागि सम्पर्क कार्यालय खोलेका छन्।

सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे। यसअघि विभिन्न नेताले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोलेका छन्। केही नेताहरूले १३औं महाधिवेशनको बेला खोलिएको सम्पर्क कार्यालयलाई नै निरन्तरता दिएका छन्। निधिले सम्पर्क कार्यालय उद्घाटन अलि फरक किसिमबाट गरेका छन्। उद्घाटन गर्नुअघि पशुपतिनाथ मन्दिरका मूल भट्टका प्रतिनिधि, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायत मन्दिरका पुजारी तथा पण्डितहरूले सम्पर्क कार्यालयमा पूजापाठ गरेका थिए। निधिले ती पुजारी तथा पण्डितबाट आशीर्वाद लिएर सम्पर्क कार्यालय उद्घाटन गरेका थिए। त्यस अवसरमा पण्डित तथा विभिन्न मन्दिरका पुजारीले मन्तव्य पनि राखे।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम राजनीतिक भए पनि धार्मिक अनुष्ठानजस्तो देखिन्थ्यो। निधिले रुद्राक्ष र सयपत्रीको माला लगाएका थिए। आफूलाई विभिन्न शक्तिपीठका पुजारी र धार्मिक गुरूहरूले आशीर्वाद दिएको उनले बताए। उनले धार्मिक गुरु कमलनयनाचार्यसँग पनि आफूले आशीर्वाद लिएको सुनाए। कार्यक्रममा उनले नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने पनि बताए।

सभापतिमा आफ्नो उम्मेदवारी कसैलाई हराउन वा कसैलाई अक्षम देखाउन नभएको निधिले बताए। आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफू सभापति बन्न चाहेको उनको भनाइ थियो। निधिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवासँग निकट भनेर चिनिएका नेताहरूको पनि उपस्थिति थियो।

देउवाको गृहजिल्ला डडेलधुराका कांग्रेस सभापति कर्ण मल्ल, कांग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीलगायत त्यहाँ उपस्थित थिए। प्रदेश २ सरकारका मन्त्री रामसरोज यादव पनि कार्यक्रममा उपस्थित थिए। शिव चौधरी, मीनाक्षी झा, स्मृतिनारायण चौधरी, पूर्वसांसद प्रेमकिशोर यादव, नरेश यादवलगायत नेताहरू पनि उपस्थित थिए।

नागरिक

Skip This