२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


अमेरिकी गुप्तचर निकाय र तालिवानका नेताबीच गोप्य भेटवार्ता


0
Shares

एजेन्सी । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग गोप्य भेट गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीच भएको भनिएको भेटबारे पुष्टि गरेका छैनन् । अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ भित्र अमेरिकी सेनाले अफगानिस्तान छोडिसक्न समयसीमा तोक्नुभएको छ ।

तर, बेलायतसहित अन्य साझेदार राष्ट्रले उक्त समयसीमा लम्ब्याउन चाहेका छन् । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी आक्रमण भएपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो ।

त्यतिबेलादेखि नै अमेरिकी सेनाको अफगानिस्तानमा उपस्थिति छ । यो कुरा पुष्टि भयो भने अगस्ट १५ मा तालिबानका लडाकुहरूले काबुल कब्जा गरेपछि अमेरिका र तालिबानबीच भएको यो नै सबैभन्दा माथिल्लो तहको भेटघाट हुनेछ ।

तालिबान काबुल पुगेपछि अफगान राष्ट्रपति विदेश पलायन भएका थिए भने अन्तर्राष्ट्रिय समर्थनप्राप्त सरकार धराशायी भएको थियो ।

काबुल छोडेर हजारौं विदेशी तथा अफगान नगारिकहरू विदेश जान खोजिरहेको बेला अहिले झन्डै ५,८०० अमेरिकी सैनिकले काबुल विमानस्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।