Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


कारबाही गरेको १४ सांसदको सनाखत नबुझ्न निर्वाचन आयोगलाई एमालेको दबाब


0
Shares

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाब दिएको छ ।

अग्नि खरेलसहितका एमाले नेताहरूले मंगलबार निर्वाचनमा आयोगमा पुगेर पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै ह्वीप उल्लंघन गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई दबाब दिएका हुन् ।

नेकपा एमालेका निर्वाचन विभाग प्रमुख खरेलले सनाखतको प्रक्रियामा नेकपा एमालेलाई समावेश गर्न जरुरी रहेको बताउनुभयो । नेकपा एमाले दल फुटाउनको निम्ति अध्यादेश ल्याएको भन्दै विभाग प्रमुख खरेलले मूल दल (एमाले)लाई रोहबरमा राखेर काम गर्न सुझाव दिनुभयो ।

त्यसैगरी निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरूले नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र ल्याउनुपर्ने बताउनुभयो । उहाँले संघीय संसदका सदस्यहरूको हकमा भने संघीय संसदबाट जारी गरिएको परिचय पत्र लिएर उपस्थित हुनुपर्ने प्रावधान रहेको बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले निवेदनमा दर्ता भएका नामका व्यक्तिहरूलाई स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने र भारतमा उपचाररत नेता झलनाथ खनालको विषयलाई भने आयोगले आफ्नो विधानको बारेमा छलफल गरेर निस्कर्ष निकाल्ने बताउनुभयो ।

निर्वाचन आयोगले दल दर्ता गर्नका लागि निवेदन दिएका नेकपा(एकीकृत समाजवादी)लाई बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।