Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


राष्ट्रपति भण्डारीकहाँ अड्कियो अध्यादेश


0
Shares

काठमाडौं । मन्त्रिपरिषद्ले हतार–हतार दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेर अध्यादेश अड्किएको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले)को माधव नेपाल समूह र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई दल विभाजन सहज हुने गरी पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पार्टी फुटाउन मिल्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट समेत गर्नुभएको थियो । कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग समेत राष्ट्रपति कार्यालयले छलफल गरेको थियो ।

सिफारिस भइ आएको अध्यादेश राष्ट्रपति भण्डारी समक्ष पेश भएको तर छलफलकै क्रममा रहेकाले मंगलबार जारी हुने सम्भावना नरहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले इमेजखबरलाईा जानकारी दिनुभयो ।

एमालेले राष्ट्रपति भण्डारीलाई अध्यादेश जारी नगर्न सार्वजनिक अपिल गरिसकेको छ । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्ले सिफारिस गरेको यही प्रकृतिको अध्यादेश भने राष्ट्रपति भण्डारीले तत्कालै जारी गरिदिनु भएको थियो ।