
काठमाडौं । म्यानपावर कम्पनी र दलालहरुले विदेशी मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर सोझा एंव गरिब नेपाली युवाबाट वाषिक १ अर्ब रुपैयाँ हाराहारीमा लुटिरहेका छन् ।
म्यानपावर कम्पनी र दलालहरुले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आकर्षक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन् । तर भनिएअनुसार काम र सुविधा पाउनुको सट्ट विदेश पुगेका युवा अलपत्र पर्ने गरेका छन् । यसरी प्रलोभनमा पारेर मिलेमतोमा लुटिएको रकम वार्षिक औसतमा १ अर्ब रुपैयाँ हाराहारी छ ।
वैदेशि रोजगार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७ / ०७८ मा मात्र म्यानपावर कम्पनी र दलालहरुले नेपाली युवाबाट १ अर्ब ३२ करोड रुपैयाँ लुटेका छन् । उक्त आर्थिक वर्षभित्र विभिन्न विदेशी मुलुकमा आकर्षक रोजगारीमा लगाउने आशा देखाएर पठाइएका युवाले आफूहरु ठगिएको भन्दै विभागमा उजुरी दिएका थिए ।
ती युवाले विदेश जान आफूहरुले १ अर्ब ३२ करोड रुपैयाँ बुझाएको दाबी गर्दै असुलउपरका लागि विभागसमक्ष निवेदन पेस गरेका थिए । गत वर्ष मात्र होइन, विभागको तथ्यांकअनुसार पछिल्ला ६ वर्षमा यस्तै प्रलोभनमा पारेर ९ हजार १ सय जनालाई अलपत्र पारिएको छ भने उनीहरुबाट करिब ५ अर्ब रुपैयाँ लुटिएको देखिएको छ । विभागले यो रकम असुलउपर गर्नुपर्ने भनेको छ ।
प्रतिक्रिया दिनुहोस्