
काठमाडौं, साउन २१ । नेकपा एमालेका सांसद खगराज अधिकारीले कोरोना भाइरसविरुद्ध किनिएका खोपको मूल्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ ।
बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा अधिकारीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग सरकारले किनेका विभिन्न खोपको मूल्य सार्वजनिक गर्न माग गर्नुभएको हो ।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका अधिकारीले मोर्डना, भेरोसेल, जोन्सन एण्ड जोन्सन कतिमा किनिएको हो भन्दै प्रश्न गर्नुभयो, ‘भ्याक्सिनको मूल्य के हो ? कसरी नेगोसिएसन भयो ? यो हामीले थाहा पाउनुपर्छ ।’
यसअघि, पूर्ववर्ती एमाले अध्यक्ष केपी ओली नेतृत्वकै सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोप खरिद गर्दा मूल्य नखुलाउने शर्त अर्थात् ‘नन डिस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो ।
वर्तमान सरकारले सिनोफार्मसँगै थप ६० लाख भेरोसिल किन्न सम्झौता गरेको छ । यसैगरी, फाइजरको ४० लाख, मोर्डनाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत भुक्तानी गरेको छ ।
सरकारका अनुसार जोन्सन एण्ड जोन्सनको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप किन्न पनि प्रक्रिया शुरु भइसकेको छ । १२ देखि १८ वर्षका किशोरकिशोरीका लागि फाइजरको ६० लाख खोप खरिद प्रक्रियामा रहेको छ ।
भारतको सेरमसँग किनेको २० लाख डोजबाहेक अरु खोपको मूल्य सार्वजनिक गरिएको छैन । उक्त खोप पनि जम्मा १० लाख डोज मात्र आएको छ ।
यसैबीच, राज्यमन्त्री श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिनुभयो । उहाँका अनुसरा शनिबार र आइतबारसम्ममा जापानबाट ८ लाख र भुटानबाट ३ लाख डोज कोरोना विरुद्धको खोप आइसक्ने छ । सोही खोप लगाइने पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्