Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको गण्डकीका मन्त्रीहरूको प्रतिबद्धता


0
Shares

पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरूले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरू प्रतिबद्ध रहने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले बुधबार आयोजना गरेको नवनियुक्त मन्त्रीहरूको बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रदेशका मन्त्रीहरूले कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेको पनि उल्लेख गरेका छन् । गण्डकीमा आमसञ्चार विधेयक ल्याउनु पूर्व पत्रकारको सुझाव अनुसार अघि बढ्ने उनीहरूको प्रतिबद्धता छ ।

पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले लोकतन्त्रको मूल्य मान्यताविपरीत गण्डकी सरकार अघि बढ्न नसक्ने बताए । संचारजगतकै कारण देशमा ठूला ठूला परिवर्तन ल्याउन सम्भव भएको उल्लेख गर्दै मन्त्री शर्माले प्रेस स्वतन्त्रताको रक्षा भएमात्र देशमा लोकतन्त्रको रक्षा हुने बताउनुभयो ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भने पनि संविधानको रक्षाका लागि कांग्रेस सरकारमा आएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘दुईतिहाइको सरकारले संविधानमाथि हमला गर्यो, त्यसको रक्षाका लागि गठबन्धन बनाएर सरकार चलाएका हौं ।’

कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले कोरोना महामारीको समयमा सञ्चार जगत बचाउन आफूहरू लागिपर्ने बताउनुभयो । उहाँले सञ्चारमैत्री कानुन बनाउने पनि प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच, युनियनले नेपाली कांग्रेसबाट नियुक्त मन्त्रीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ । उनीहरूलाई बधाई ज्ञापनपत्र साथमा माला र खादा ओढाइ सम्मान गरिएको थियो । कार्यक्रममा पे्रस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले जनताको हितलाई ध्यानमा राखेर सामाजिक सञ्जालमा टीकाटिप्पणी नहुने गरी काम गर्न मन्त्रीहरूलाई सुझाव दिनुभयो ।

Skip This