
काठमाडौं, मंसिर १४ । इराकी प्रधानमन्त्री आदेल अब्दुल महदीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
सरकार विरोधी प्रर्दशन बढ्दै गएपछि प्रधानमन्त्री महदीले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
गत अक्टोबरमा सुरु भएका सरकारविरोधी प्रदर्शनका क्रममा एकै दिन ५० जना भन्दा बढीको मृत्यु भएलगत्तै प्रधानमन्त्री अब्दुलले राजीनामा दिने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
राजधानी बगदादको तहरी स्क्वायरमा अक्टोबर १ बाट देशब्यापी रुपमा सुरु भएको प्रदर्शनका क्रममा सरकारी निकायमा भएको भ्रष्टाचार र राजेगारी सिर्जनालगायतका मुद्दा लिएर सर्वसाधारण आन्दोलित भएका हुन् ।
प्रधानमन्त्री अब्दुलले संसदमा राजीनामा बुझाउने घोषणा गरेका छन् । उनले आम नागरिकको हित र रक्तपातपूर्ण अवस्थाको अन्त्यका लागि आफूले राजीनामा दिन लागेको बताएका छन् ।
इराकका प्रमुख धार्मिक नेताले सरकारले प्रदर्शनकारीविरुद्ध अत्याधिक बल प्रयोग गरेको भन्दै निन्दा गरेका छन् ।
उनले प्रधानमन्त्री अब्दुलको राजीनामासँगै सहमतिमै नयाँ सरकार गठन गर्न पनि माग गरेका छन् ।
तर प्रदर्शनकारीहरुले भने प्रधानमन्त्रीको राजीनामा मात्र पर्याप्त नभएको भन्दै आफूहरुका माग पूरा नभएसम्म बिरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्