७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सुरक्षा निकायसमेतको नक्कली कागजपत्र बनाएर ठगी (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र उत्तम मानन्धर (इमेज)

काठमाडौं, मंसिर १३ । पछिल्लो समय नेपालमा आर्थिक अपराधका घटना एकपछि अर्को सार्वजनिक हुन थालेका छन् । जसले गर्दा जनताले सुरक्षित महसुस गर्न सकेका छैनन् ।

कहिले ‘एटीएम ह्याकिङ’ त कहिले कीर्ते सही गरी रकम झिक्ने मात्र नभइ नेपालका प्रमुख निकायकोसमेत नक्कली कागजात बनाइ सर्वसाधारणलाई ठग्ने प्रवृत्ति हावी हुन थालेको छ ।

कीर्ते सही गरी सर्वसाधारण व्यक्तिको नाममा रहेको लाखौं रुपैयाँ झिकेको घटना सेलाउन नपाउँदै सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्रहरु बनाइ विभिन्न व्यक्तिबाट ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआइबी)ले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेका सविन कुमार तोलाङगी, अमृत सुर्खेती र मधुसुदन दवाडीको साथबाट सरकारी कार्यालयको कागजात त्यसमाथि पनि महत्वपूर्ण सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनासँगै विभिन्न महानगरीय प्रहरी वृत्तहरुको लेटर प्याड भेटिएको छ ।

नक्कली लेटर प्याडमा प्रगोग हुने नक्कली छापसमेत भेटिएको सीआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।

पछिल्लो समय आर्थिक अपराधका घटनाहरु निकै बढेको पाइएको छ । जसका कारण आमनागरिक ठगिनेक्रम रोकिएको छैन ।

कहिले एटीएम ह्याकिङ त कहिले कीर्ते सही अनि कहिले नक्कली कागजात बनाइ ठगी गर्ने गिरोह निकै सलबलाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होवेन्द्र बोगटीको भनाइ छ ।

नक्कली सरकारी कागजात बनाइ रोजगारको सिलसिलामा विदेश जाने कुनै नागरिक होस् वा कुनै विद्यार्थी नै किन नहुन्, उनीहरु कानुनको दायरामा आउने प्रहरीको भनाइ छ ।

पक्राउ परेको गिराहले ‘जो जससँग सम्बन्धित छ’जस्ता नक्कली कागजातमात्रै होइन, विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाणपत्रहरु, नक्कली पासपोर्ट, बैंक स्टेटमेन्ट, मेडिकल रिपोर्ट, विद्यालयहरुको सर्टिफिकेट र विभिन्न वडा कार्यालयहरुको सिफारिस पनि नक्कली बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

भिडियो हेर्नुहोस्