७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


प्रहरीलाई एक हजार ‘घुस’ दिन खोज्दा…


0
Shares

काठमाडौं, मंसिर १३ । प्रहरीलाई एक हजार रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाजुराको त्रिवेणी नगरपालिका–४ घर भइ कलंकी बस्ने सिभिल इन्जिनियर २६ वर्षीय उपेन्द्रबहादुर साउद र ललितपुरको गोदावरी नगरपालिका–१० घर भइ कलंकी बस्ने २६ वर्षीय महेश पण्डित रहेका छन् ।

प्रहरीले बिहीबार राति काठमाडौं महानगरपालिका–१४, कलंकी, खसीबजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरु बा८८प ७५८५ नम्बरको मोटरसाइकलमा सवार थिए । खसीबजारमा चेकजाँचका क्रममा प्रहरीले उनीहरुलाई रोक्यो ।

महानगरीय प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुले मदिरा सेवन गरी मोटरसाइकल चलाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले कागजपत्र माग्यो । तर, उनीहरुले एक हजार दिइ प्रहरीलाई प्रलोभनमा पार्न खोजे ।

त्यसपछि प्रहरीले उक्त नगदसहित मोटरसाइकलचालक साउद र मोटरसाइकलमा सवार पण्डितलाई पक्रेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।