Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


‘नेपाल फर्किँदा मलाई मृत्युदण्ड त हुनसक्छ, तर पनि म फर्कन्छु’–बीपी कोइराला (भिडियो अन्तर्वार्ता)


26
Shares

BP Koirala nepali congress king Birendra america

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले चार दशकअघि अमेरिकी पत्रकारलाई दिएको अन्तर्वार्ताको भिडियो क्लिप फेला परेको छ ।

बुधबार मात्र ३९ औं स्मृति दिवस मनाइएको कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । त्यसअघि घाँटीको क्यान्सरका कारण गम्भीर बिरामी भएपछि राजा बीरेन्द्रले बीपीलाई सन् १९७७ मा उपचारका लागि अमेरिका जान अनुमति दिनुभएको थियो ।

उपचारपछि अमेरिकाबाट नेपाल फर्कने समयमा अमेरिकी पत्रकारद्वय जिम लेहरर र रबर्ट म्याक्निलले लिएको अन्तर्वार्तामा आफूमाथि मृत्युदण्डको सजायँ हुनसक्ने अवस्था हुँदाहुँदै पनि फर्कनुको कारणबारे बीपी भन्नुहुन्छ, ‘मैले राजाको विश्वास राख्नुपर्छ । उनले मलाई जमानतमा छाडेका हुन्, जसको अर्थ म फर्किनु पर्छ भन्ने हो । मैले राजालाई भनेको छु–उपचारपछि म देश फर्कनेछु । जेलमा बस्नेछु र मुद्दाको सामना गर्नेछु । अर्को कुरा, मैले मेरा जनता र मेरा मित्रहरू जो प्रजातान्त्रिक अधिकारको पुनर्स्थापनाका लागि म सँगसँगै लडेका छन् उनीहरूको विश्वास पनि राख्नुछ । म नेपाल फर्किनुका यी दुई मुख्य कारण हुन् ।’

अर्थशास्त्री स्वर्णीम वाग्लेले बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको भिडियो क्लिपमा बीपी भन्नुहुन्छ, ‘मविरूद्ध सात वटा गम्भीर प्रकृतिका मुद्दा छन् । त्यसमा राजद्रोह र बल प्रयोग गरेर सरकार विस्थापित गर्नेलगायत छन् । हरेक मुद्दामा दोषी ठहर भए मृत्युदण्ड हुन सक्छ ।’

अन्तर्वार्ताका क्रममा बीपी भन्नुहुन्छ, ‘म यहाँ (अमेरिका) बसेर मेरो स्वास्थ्यबाहेक अरू के नै गर्न सक्छु र ! तर म त्यहाँ भएँ भने त्यसले राजनीतिक प्रभाव पार्छ । म फर्किएर राजबन्दी हुनु भनेको प्रजातान्त्रिक अधिकारका लागि भैरहेको संघर्षमा मेरो भागको योगदान गर्नु हो ।’

बीपी फर्किएपछि मुलुकमा राजनीतिक सरगर्मी बढेको मात्र होइन त्यसको केही वर्षभित्रै २०३७ सालमा राजा वीरेन्द्रले बहुदल कि सुधारिएको पञ्चायत भन्ने विकल्प रोज्न जनमत संग्रह गराउनु परेको थियो । यद्यपि, उक्त मतदानमा पञ्चायतको व्यापक धाँधलीका बीच चार लाख मतान्तरले बहुदल पराजीत भयो ।