Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


अन्यौलमा मतदाता, आश्वासन मात्रै बाँड्नेलाई कसरी भोट दिने ?


0
Shares

सप्तरी । छिन्नमस्ता गाउँपालिका वडा नम्वर ७ हाटी यतिवेला चुनावमय बनेको छ । तर, आधारभुत सेवाबाट समेत वञ्चित रहेका दलित मुसहर समूदायलाई भने उम्मेदवारहरुको आश्वासनले फरक पारेको छैन ।

गत निर्वाचनमा दलित वस्तीको घर–घरमा विद्युत पुर्‍याउने आश्वासन पाएपनि अझैसम्म १ सय ४४ घरमा विद्युत नपुग्दा उनीहरुलाई भोट हाल्ने विषय दुविधा बनेको छ ।

चुनावको बेला वाचा गरेर भोट बटुल्ने र निर्वाचित भएपछि दलितलाई फरक किसिमले हेर्ने प्रवृतिले झण्डै ५ सय व्यक्तिलाई अध्यारोमै बस्नुपर्ने बाध्यता रहेको उनीहरुले दुखेसो गरेका छन् ।

दैनिक जसो ज्याला मजदुरी गरेर जीविको चलाउँदै आएका दलित समूदायका लागि निःशुल्क विद्युत मिटर वितरण भएपनि वडा कार्यालयले आफ्नो पार्टीलाई भोट नदिएको भन्दै सिफारिश नदिएका कारण त्यो मिटर पनि पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् ।

एक हजार ४ सय तीन जना मतदाता रहेको सो वडामा ७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएर प्रचार प्रसारमा जुटेका छन् ।

०७४ सालको निर्वाचनमा राजपाबाट निर्वाचित वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समितिको संयोजकमा आएपछि वडाध्यक्षको पद रिक्त हुन पुगेको थियो ।