काठमाडौं, मंसिर १० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन मंसिर १५ गते आइतबार हुने भएपनि भलिबलका खेलहरु बुधबारदेखि सुरु हुँदैछन् ।
उद्घाटन खेलमा नेपाली महिला टोलीले दिउँसो ३ बजे बंगलादेशसित खेल्नेछ ।
तालिकाअनुसार बुधबारै साँझ ५ बजे माल्दिभ्स र पाकिस्तान खेल्नेछन् ।
हालै बंगलादेशमा सम्पन्न सेन्ट्रल जोनको उपाधि जितेको नेपाली महिला टोलीलाई स्वर्णपदकको दाबेदार पनि मानिएको छ ।
नेपाली पुरुष टोलीको भिडन्त
बुधबारै नेपाली पुरुष भलिबल टोलीले बेलुकी ७ बजे बंगलादेशसित खेल्नेछ । पुरुष खेल बुधबार एउटामात्र हुनेछ ।
महिला तथा पुरुष दुवै विधाका खेलहरु दशरथ रंगशालास्थित कभर्डहलमा हुनेछन् ।
सागको भलिबलमा पुरुष र महिलातर्फ समान ६ टोली रहेका छन् । समूह चरणमा पुरुष र महिला दुवैमा एकै राष्ट्रहरु रहेका छन् ।
समूह ‘ए’मा नेपाल, बंगलादेश र भारत तथा समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्