Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


करोडौंको भवन बेवारिसे बनाएर १३ लाख भाडामा बझाङ नगरपालिका


0
Shares

– डीवी विष्ट/ईमेज 

बझाङ । निर्माण भएको एक वर्ष बितिसक्दा पनि बझाङको जयपृथ्वी नगरपालिकाको कार्यालय भवन प्रयोगमा आउन सकेको छैन ।

आफ्नो भवन हुँदा हुँदै केही जनप्रतिनिधि र कर्मचारीको स्वार्थका कारण भाडाको घरमा कार्यालय बनाएको स्थानीयको आरोप छ ।

बझाङको जयपृथ्वी नगरपालिकाले कार्यालय स्थापनाको एक वर्ष अघि भवन निर्माण गरिए पनि अहिलेसम्म भाडाकै भवनमा कार्यालय राखिएको छ ।

नगरपालिकाको वडा नम्बर ९ को रिठापाटामा करोडौँ रकम खर्चिएर बनेको भवन बेवारिसे अवस्थामा भइरहँदा वार्षिक १३ लाख रुपैयाँँको खर्चमा भाडाको घरमा कार्यालय चलाइएको हो ।

नगरपालिका घोषणा भएको दुई वर्षमै केन्द्रिय बजेटमार्फत् ३ करोड ९६ लाख रुपैयाँमा निर्माण गरिएको हो ।

नगरपालिकाको भवनको लागि स्थानीयले झण्डै १ करोड मूल्य बराबरको ५ रोपनी जग्गा निःशुल्क दान गरेको स्थानीय बासिन्दा तथा जग्गा दान गर्ने श्यामबहादुर खड्काको भनाइ छ ।

तर नगरपालिकाको कार्यालय नवनिर्मित भवनमा सर्नुको साटो लाखौँ रुपैयाँ खर्चिएर भाडाको घरमा बस्दा आफूहरुलाई दुख लागेको उनको भनाइ छ ।

निर्माण गरिएको भवन अहिले वेवारिसे अवस्थामा रहेको र पशुचौपायको वासस्थान भएको स्थानीयले गुनासो गर्दै आएका छन् ।

नयाँ भवनमा सर्ने निर्णय चार पाँच पटक गरे पनि अहिलेसम्म हुन नसकेको अर्का स्थानीय खगेन्द्र खड्का बताउँछन् ।

नगरपालिकाले विभिन्न बहानाबाजी गर्दै आएकाले यही मंसिरभित्र कार्यालय स्थानान्तरण नभए आफूहरुले आन्दोलन गर्ने खड्काको चेतावनी छ ।

उक्त  भवन साँघुरो हुने भएकाले समस्या भएको जयपृथ्वी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मंगल शाहीको भनाइ छ ।

जनप्रतिनिधि आउनुअघि नै भवनको डिजाइन गरिएकाले नगरपालिकाका सबै शाखा अपुग हुने र माथिल्लो तलामा थप कोठा निर्माण भएपछि सर्ने प्रमुख शाहीको भनाइ छ ।

नयाँ बनेको भवन नजिकै मालपोत, नापी र सिँचाइ कार्यालयका साथै जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल पनि छ ।

कार्यालय सार्ने निर्णय पटकपटक भए पनि राजनीतिक स्वार्थको टकरावका कारण रोकिएको स्थानीयको आरोप छ ।