नेपालगन्ज, मंसिर ७ । नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका नवराज साउदले जितेका छन् ।
शनिबार नेपालगन्जमा सम्पन्न पाँचौं संस्करणको प्रतियोगितामा साउदले निर्धारित् ४२ किलोमिटरको दूरी दुई घन्टा २५ मिनेट ५८ सेकेन्डमा पूरा गरी उपाधि जितेका हुन् ।
प्रतियोगितामा नेपाली सेनाकै खगेन्द्र भाट र राजन रोकाय क्रमशः दोस्रो र तेस्रो भए ।
विजेता साउदले ६५ हजार, भाटले ३५ हजार र तेस्रो हुने रोकायले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
महिला हाफ म्याराथन
२१ किलोमिटर महिला हाफ म्याराथनको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन् । उनले निर्धारित् दूरी एक घन्टा ३० मिनेट २१ सेकेन्डमा पूरा गरिन् ।
जुम्लाकी राममाया बुढा दोस्रो र सशस्त्र प्रहरी बलकी कृष्णेश्वरी सिन्ताकला तेस्रो भइन् ।
विजेता न्यौपानेले ३५ हजार, बुढाले २० हजार र सिन्ताकलाले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।
विस्तृत शान्ति–सम्झौता भएको दिनको सम्झनामा क्रियटिभ ह्यान्ड्स बाँकेले प्रत्येक वर्ष नेपालगन्ज म्याराथन गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्