काठमाडौं । चोटमुक्त हुँदै मैदान फर्किएका नेयमार सम्मिलित पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सको लिग वानमा जित निकालेको छ ।
गएराति भएको खेलमा पीएसजीले लिलीलाई २–० गोलअन्तरले पछि पारेको हो । अर्जेन्टिनाका फरवार्ड मौरो इकार्डीले १७ औं मिनेटमा गोल गर्दै पीएजीलाई सुरुवाती अग्रता दिलाए ।
उनी यसै सिजन लोनमा इन्टर मिलानबाट पीएसजीसँग अनुबन्धित भएका थिए । पछिल्लो ९ खेलमा पीएसजीका लागि उनले १० औं गोल गरेका छन् ।
३१ औं मिनेटमा डी मारियाले पीएसजीको अग्रतालाई दोब्बर बनाए । जितसँगै पीएसजीले लिग वानमा ११ अंकको अग्रता लिएको छ ।
अक्टोबर यता चोटका कारण नेयमार मैदान प्रवेश गर्न सकेका थिएनन् । उनी अन्तर्राष्ट्रिय खेलमा ब्राजिलबाट खेल्ने क्रममा घाइते भएका थिए ।
नेयमारले यो सिजनमा ६ खेलमा पीएसजीबाट खेल्न पाएका छन् ।
पीएसजीले च्याम्पियन्स लिग फुटबलमा मंगलबार रियल मड्रिडविरुद्व समूह चरणको खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।
पीएसजीले १४ खेलबाट ३३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । लिली १९ अंकसहित सातौं स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्